महाशिवरात्रिको अवसरमा जलेश्वरमा कलश शोभायात्रा निकालियो – Jaleshwortoday

महाशिवरात्रिको अवसरमा जलेश्वरमा कलश शोभायात्रा निकालियो

 February 26, 2025  
10

आरजे इर्साद शेख
महोत्तरी, १३ फाल्गुन

महोत्तरी जिल्लाको सदर मुकाममा अवस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट निकालिएको कलश शोभायात्राले नगर परिक्रमा गरेको हो । नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी लालबाबु कबारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेसहित विभिन्न सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र आमनागरिकलगायतको उपस्थिति रहेको कलश शोभायात्रामा शिव नाटकसमेत प्रदर्शनी गरिएको हो । आज मध्यरातदेखि नै शिव गुफा दर्शनका लागि खुला रहनेछ ।

सोही दिन मनाइने सेना दिवसको अवसर पारेर जलेश्वरनाथ महादेव मन्दिर, मन्दिरपरिसर सोमबर सरसफाइ गरिएको थियो । जलेश्वर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, महाशिवरात्रि मेला आयोजना समिति, विद्यालयहरू तथा नागरिक समाज एवं विभिन्न संघसंस्था र निकायहरूको सहयोगमा मन्दिर र नगरलगायतका स्थलहरूको सरसफाइ गरिएको हो ।

परापूर्वकालदेखि नेपाली सेना तथा सशस्त्र प्रहरीको सहयोगमा शिवलिंग अवस्थित जलगुफाभित्रको जल बाल्टीले नै निकालेर शिवलिंगको प्रत्यक्ष दर्शन गराउने गरिएको छ । शिवरात्रिको दिन र हरेक महिनाको पहिलो र अन्तिम सोमबारबाहेकका दिनमा जलगुफाको जल निकाल्न वर्जित छ ।