" >
रामगोपालपुर – ३ स्थित दोलाठी युनाइटेड युवा क्लबको भवन निर्माणकाे लागि शिलान्यास - Jaleshwortoday

रामगोपालपुर – ३ स्थित दोलाठी युनाइटेड युवा क्लबको भवन निर्माणकाे लागि शिलान्यास

 २५ फाल्गुन २०८१, आईतवार ००:०९  
7

आरजे ईर्शाद शेख
महोत्तरी, २४ फागुन

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ३ स्थित दोलाठी युनाइटेड युवा क्लबको भवन निर्माणकाे कार्य भव्य रूपमा सम्पन्न भएको छ ।

शिलान्यास समारोहका प्रमुख अतिथि मधेस प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा रहनुभएको थियो । विशिष्ट अतिथिको रूपमा रामगोपालपुर नगरपालिकाका नगर प्रमुख राम दुलर साह, अतिथिमा वडा नं. ३ का अध्यक्ष जय नारायण मण्डल, वडा नं. ४ का अध्यक्ष उमेश महतो, जसपा नेपालकाे नगर संयोजक सुरेश यादव, क्लबका अध्यक्ष सन्तोष कुमार मण्डल लगायत स्थानीय समाजसेवी, युवा तथा नगरवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि कुशवाहाले स्थानीयस्तरमा खेलकुद तथा युवामुखी गतिविधिलाई प्रवर्द्धन गर्न क्लबको भवन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवालाई सक्षम, संगठित र अनुशासित बनाउन यस्ता संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नगर प्रमुख साहले नगरपालिकाको तर्फबाट खेलकुद, शिक्षा तथा सामाजिक गतिविधिहरूलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्षहरू मण्डल र महतोले क्लबलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन स्थानीय सरकारको भूमिका सक्रिय हुने आश्वासन दिनुभयो ।

श्री दोलाठी युनाइटेड युवा क्लबले स्थानीय युवाहरूको सशक्तीकरण, खेलकुद प्रवर्द्धन तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । भवन निर्माणपछि क्लबलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने क्लबका अध्यक्ष सन्तोष कुमार मण्डलले बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा क्लबका पदाधिकारीहरूले सबै अतिथि, स्थानीय प्रतिनिधि तथा सहभागिहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ प्रभावकारी गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।