" >
स्थानीय सेवा ऐन संशोधन होस्, नभए आन्दोलन - Jaleshwortoday

स्थानीय सेवा ऐन संशोधन होस्, नभए आन्दोलन

 ९ चैत्र २०८१, आईतवार २३:२१  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १० चैत्र

मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालले मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा (गठन तथा संचालन) ऐन २०८१ संशोधनको माग गरेको छ ।

मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल, मधेश प्रदेशले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कार्यरत्त चौथौ र पाँचौ तहका स्वास्थ्यकर्मीहरुको वृत्ति विकास (आवधिक स्तर वृद्धि) अवरुद्ध हुने भएकाले तत्काल स्थानीय सेवा (गठन तथा संचालन) ऐन २०८१ संशोधनको माग गरेको हो ।

मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालका मधेश प्रदेश अध्यक्ष बिनोद यादवले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवा ऐन २०५३ र कर्मचारी समायोजन ऐन २०७५ को प्रावधान विपरीत मधेश प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याएको उल्लेख गरिएको छ ।

मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा (गठन तथा संचालन) ऐन २०८१ ले स्थानीय तहमा समायोजन भई कार्यरत्त कर्मचारीहरुको वृत्ति विकास नै अवरुद्ध हुने दावी विज्ञप्तिमा गरिएको छ ।

उक्त ऐन संशोधन गरेर स्वास्थ्यकर्मीहरुको वृत्ति विकास सुनिश्चित गर्नुपर्ने स्वास्थ्यकर्मी फोरमको माग छ ।

स्वास्थ्यकर्मीहरुको अवरुद्ध स्तरवृद्धि सुचारु नभएमा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी मधेश प्रदेश सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।