आरजे ईर्शाद शेख
जनकपुरधाम, २ अषाढ
“Empowerment for Peaceful and Inclusive Communities in Nepal” अभियानअन्तर्गत धनौजी गाउँपालिकाको सन्दर्भ विश्लेषण सम्बन्धी प्रारम्भिक छलफल कार्यक्रम सोमबार जनकपुरधामस्थित होटल वेलकममा सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य गाउँपालिकाको सामाजिक, आर्थिक, सांस्कृतिक तथा भौतिक अवस्थाको सन्दर्भ विश्लेषण गर्दै समावेशी र दिगो विकासका लागि प्राथमिकता निर्धारण गर्नु रहेको आयोजकले बताएका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष साहले तथ्यमा आधारित योजना निर्माणको अपरिहार्यता औँल्याउँदै, “पालिकाको समृद्धिको आधार भनेकै सबै वर्ग, समुदायलाई समेट्ने नीतिगत तथा व्यवहारिक विकास हो,” भन्ने धारणा व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत यादवले पालिकाको वर्तमान अवस्था, विकासका चुनौती तथा उपलब्ध अवसरहरूबारे सहभागीहरूसँग विस्तृत जानकारी साझा गरे।
सपोर्ट नेपालका प्रतिनिधिहरूले सन्दर्भ विश्लेषणको प्रक्रिया, उद्देश्य तथा अपेक्षित परिणामहरूबारे प्रस्तुत गर्दै सरोकारवालाको सक्रिय सहभागिता नै सफल कार्यान्वयनको मूल कुन्जी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले विभिन्न समूहगत छलफलमार्फत स्थानीय तहमा रहेका द्वन्द्व, अवसर, चुनौती, सीमान्तकृत समुदायका अवस्था तथा सुधारका सुझावहरू प्रस्तुत गरेका थिए। छलफलका क्रममा विशेष गरी सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र वातावरणीय द्वन्द्वका स्वरूपहरू, तिनीहरूको व्यवस्थापनका उपायहरू, र सीमान्तकृत समुदायहरू जस्तै: दलित, महिला, मुस्लिम, मधेशी, अपाङ्गता भएका व्यक्ति,गरिब वर्ग को पहिचानमा केन्द्रित बहस गरिएको थियो।
समूह छलफलका लागि सहभागीहरूलाई निम्न प्रश्नहरू प्रस्तुत गरिएको थियो:
१. तपाईँको पालिकामा के कस्तो प्रकारका द्वन्द्वहरू छन्?
२. तिनीहरूको व्यवस्थापनका लागि पालिकाले के उपायहरू अपनाएको छ?
३. विकासबाट पछि पारिएका वा सीमान्तकृत समुदाय को–को हुन्?
४. पालिकाका सेवा–सुविधा लिन नआउने वा कम सहभागी हुने वर्ग कुन हो?
५. उनीहरू विकासमा किन सहभागी हुन सक्दैनन्?
६. हालका विकास योजना तथा स्रोत विनियोजनले जोखिममा परेका समूहको आवश्यकतालाई सम्बोधन गर्छ त?
७. स्थानीय शासनलाई कसरी अझ समावेशी, शान्तिपूर्ण र उत्तरदायी बनाउन सकिन्छ?
आयोजकका अनुसार, उक्त सन्दर्भ विश्लेषणको निष्कर्षलाई आधार मानी आगामी दिनमा नीति निर्माण तथा कार्यक्रमको प्राथमिकता तय गरिनेछ।
कार्यक्रमले स्थानीय तहमा समावेशीता, सहभागिता र सहकार्यलाई प्रवर्द्धन गर्ने दिशामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
