खाद्यान बालीको रुपमा धानबाली लाई सर्बश्रेस्ठ र लोकप्रिय बालीको रुपमा मानिने हुदा धानको खेति र उपभोग हाल विश्वभरिनै बढ्दै गएको छ| विश्वमा करिब एक करोड ४१ लाख हेक्टर भन्दा बढी क्षेत्रमा धानखेती हुन्छ | जसमा एसियाले करिब ८० प्रतिशत क्षेत्र र उत्पादन ओगट्छ | विश्वमा सबै भन्दा बढी धान उत्पादन गर्ने देशमा चीन, भारत, बंगलादेश, इन्डोनेसिया, भियतनाम लगायत पर्छ | धान उत्पादन गर्ने देशको सुचीमा नेपाल १६ औ स्थानमा पर्छ | धान बालीले नेपालको कुल ग्राहस्थ उत्पादनमा ५ प्रतिशत र कृषि ग्राहस्थ उत्पादनमा १५ प्रतिशत योगदान गर्दछ |
नेपालमा धान खेति समुन्द्र सतह देखि ७० देखि २७५० मि उचाई सम्म गरिन्छ | हालसम्म नेपालमा ९७ धानका जात सिफारिस भैसकेका छन् जसमा २ वटा बर्णशंकर धानका जात (हर्दिनाथ हाइब्रिड १ र हर्दिनाथ हाइब्रिड ३ ) रहेको छ | नेपालमा १४ लाख ४६ हजार हेक्टरमा धानखेति गरिन्छ र वार्षिक ५६ लाख मेट्रिक टन धान उत्पादन गरिन्छ | तथापि नेपालमा वार्षिक ७८ लाख मेट्रिक टन आवस्यकमा करिब २०-२५ लाख मेट्रिक टन धानको अपुग भइरहेको छ | नेपालमा ३.८ मे टन प्रति हेक्टर उत्पादकत्व रहेको छ | कम उत्पादकत्वले गर्दा बर्षेनी ३४ अर्ब बराबरको चामल आयात गरिन्छ | नेपालमा कृषि योग्य जग्गा कम हुदै जानु र जनसंख्या मा वृद्धिले गर्दा खाद्यान्न आपूर्तिमा कमि हुदा उत्पादकत्व बढाउनु पर्ने अवस्था छ | यसको लागि उन्नत जातको विकास र प्रयोग हुनु जरुरि हुन्छ | नेपालमा हाल उन्नत जात संगै बर्णशंकर धानको पनि माग उत्तिकै बढेको छ | नेपालमा हाल सम्म ८० बिदेशी बर्णशंकर र स्वंसेचीत धानका जात दर्ता भएका छन् | जस मध्ये २७ जातलाई सुचीबाट हटाईएको छ| र अहिले ५६ बर्ण शंकर धान प्रयोगमा छ |नेपालमा हाल करिब कुल धानखेतिको ५% क्षेत्रफलमा बर्णशंकर धानको प्रयोग हुदै आएको छ | मुख्यत तराई र मध्य पहाडमा यस किसिमका जात किसानको खेतबारीमा फैलिएको छ | आधिकारिक तथ्यांकका आधारमा नेपालमा हाल विभिन्न बीउ आयातकर्ता मार्फत करिब २००० मे टन बर्णशंकर धानको बीउ भित्रिन्छ | तथापि नेपाल र भारतको खुल्ला सिमानाका कारण अझै धेरै मात्रामा बीउ भित्रिएको पनि देखिन्छ |
त्यस्तै वार्षिक करिब २५ मे टन हर्दिनाथ हाइब्रिड १ जातको बीउ नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका कार्यालयहरु, बीउ कम्पनि र सहकारी बाट उत्पादन हुदै आएको छ | प्रत्येक बर्ष राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले प्रत्येक बर्ष एक हफ्ते आवासीय बर्णशंकर धानको बीउ उत्पादन तालिम पनि प्रदान गर्दै आएको छ | संगै विभिन्न समयमा बीउ उत्पादक समुह, कम्पनीलाई बर्णशंकर धानको बीउ उत्पादन सम्बन्धी प्राबिधिक सरसल्लाह सुझाव दिदै आएको छ |
नेपालमा बर्णशंकरधानको विकास
बर्णशंकर धान भन्नाले दुई भिन्न भिन्नै जातीय गुण भएका धानमा अन्तर प्रजनन क्रिया (क्रासब्रीडइंग) बाट विकास गरिएको जात बुझिन्छ | नेपालमा बर्ण शंकर धान विकास गर्न तिन लाइन पद्दति (पोथी/भाले नपुंसक लाइन, संरक्षक लाइन र भाले/पुनरस्थापक लाइन) को प्रयोग हुन्छ |
सन् २००२ देखि २००५ सम्म नेपालमा औपचारिक पद्दतिमा हाइब्रिड धानको अनुसन्धान इरि बाट INGER (International Network for Genetic Evaluation of Rice ) मार्फत अन्तराष्ट्रिय धान हाइब्रिड अवलोकन नर्सरी (IRHON) को परिक्षण गरि सुरुवात गरियो | सन् २००५ पश्चात इर्री(IRRI) को नीति परिवर्तन हुदा consortium सदस्यलाई मात्र हाईब्रीड को जर्मप्लाज्म दिने हुदा नेपालले तत् पश्चात प्राप्त गर्न सकेन | यहि समयदेखि तराई, भित्रि मधेश र पहाडको फेदीमा किसानले बर्णशंकर धान खेति सुरु गरे | मुख्यत भारत र केहि बर्णशंकर धानको जात चीन बाट नेपाल भित्रियो र खेति गरिन लागियो | धान अनुसन्धान कार्यक्रमले भारत र चीनका केहि उत्तम बर्णशंकर धानको एक बर्षे परिक्षण बाट नेपालमा खेति गर्न जातको दर्ता सुरु गर्यो | र हाल २ बर्षे परिक्षणबाट आएका उत्कृष्ट बर्ण शंकर धानको दर्ता गरिन्छ | त्यस्तै हाल ७ वटा बीउ उत्पादक कम्पनिले धानको अनुसन्धान र विकास गर्न लाइसेन्स लिएका छन् |
सन् २०११ नेपालले बर्णशंकर धान विकास मंच (HRDC) को सदस्यता लिएपछी त्यसको अर्को बर्ष अर्थात् सन् २०१२ मा२५ वटा बर्ण शंकर धान जातीय अनुसन्धानका लागि आयो र उत्कृष्ट ३ बर्णशंकर धानको माउ (भाले, पोथी) नेपालमा ल्याई नेपालमा नै बर्णशंकर धानको अनुसन्धान सुरु भयो |त्यसैको फलस्वरूपबि. सं. २०७६ सालमा नेपालको आफ्नै क्रसबाट २ नेपालीबर्णशंकर धानको जात (हर्दिनाथ हाइब्रिड १ र हर्दिनाथ हाइब्रिड ३) विकास गरि समुन्द्र सतहदेखि १००० मिटर सम्मको उचाईमा खेती गर्न सिफारिस भएको छ | ती दुवै जात चैते र बर्खे सिजनमा खेति गर्न सकिने, मसिनो, बासनादार, छोटो समयमा पाकने जात हुन र उत्पादन ६-७ टन प्रति हेक्टर छन् | हर्दिनाथ हाइब्रिड १ जातलाई किसानले अत्यधिक मन पराई खेती गरिदै आएको छ | त्यस्तै अहिले चारवटा हाइब्रिड धानका जातहरु HH १४२, HH १११, HH २०० र HH १३८विभिन्न परिक्षणमा उत्कृष्ट आएको हुदा आगामी वर्षमा यी जातहरु खेतिका लागि सिफारिस गर्ने प्रक्रियामा छ |
बर्ण शंकर धानको आवस्यकता
नेपालमा बर्षेनी अरबौको धान आयात हुन्छ | नेपालको उत्पादकत्व छिमेकी राष्ट्रहरु को तुलनामा कम छ| यसरी नेपालको धानको आवस्यकता पूरा गर्न धानको क्षेत्रफल बढाउनु पर्ने हुन्छ वा बर्ण शंकर धानको प्रयोग बढाउनु पर्ने हुन्छ| धानखेति गर्ने जग्गा सिमित छ साथै कृषि मजदुरको अभाव हुने हुनाले कम क्षेत्रफलमा बढी उत्पादन लिन बर्ण शंकर धानको बिकल्प छैन | किनभने बर्ण शंकर धानको उत्पादन स्वसेचित धानको जातको उत्पादन भन्दा २०-२५ प्रतिशत बढी हुन्छ | जसको प्रयोगले धान उत्पादन र उत्पादकत्वमा वृद्धि हुन सहयोग गर्छ | शहरीकरणको प्रभावले जग्गाको खण्डीकरण हुदै गर्दा प्रति इकाई क्षेत्रफलमा बढी उत्पादन लिन बर्णशंकर धानको प्रयोग किसानको रोजाईमा पर्दछ | तुलनात्मक रुपमा रोग, किरा र पारिस्थितिक प्रणालीसहन सक्ने गरि बर्णशंकर धानको विकास गरिएको हुदा किसानलाई खेतबारीमा हुने क्षति कमगर्न सहयोग गर्छ | तथापि बीउको खरिद मूल्य बढी हुने र प्रत्येक बर्ष बीउ खरिद गर्नु पर्ने भए पनिबर्णशंकर धानमा बीउ दर कम हुने, बढी गाज लाग्ने र बढी उत्पादनदिने हुदा कृषकको खेतमा बर्ण शंकर धानको प्रयोग बढ्दै गरेको छ |
बर्ण शंकर धान विकास र उत्पादनमा चुनौतीहरु
जग्गा खण्डीकरणले गर्दा किसानको खेति योग्य जग्गा कम हुदै गएको छ | जसकारण किसानलाई कम क्षेत्रफलमा बढी धान फल्ने जात चाहिएको छ| यद्दपि बर्ण शंकर धान को बीउ एक पटक प्रयोग पछी अर्को बर्ष प्रयोग नहुने हुनाले यसको बीउ अर्को बर्षको लागि जोगाउन सकिदैन जसले गर्दा प्रत्येक बर्ष बीउ खरिद गर्नु पर्ने हुन्छ | हाल बर्ण शंकर धान को बीउ मुख्यत: भारत बाट बढी आउछ र खुला सिमानाले गर्दा दर्ता नभएका कमसल बर्ण शंकर जातहरु भित्रिदा र स्वसेचीत जातलाई बर्ण शंकर जात भनि बर्ण शंकर धानको मूल्य लिदा किसान ठगिएका पनि छन् | यसरी बिदेशी जात अबैध बिक्री वितरण हुने र नियमन निकाय निस्क्रिय हुदा केहि नाफाखोर ब्यापारी हौसिएका छन् र प्रत्येक बर्ष अत्यधिक मात्रामा अबैध बीउ चोरी छिपी भित्र्याउने क्रम बढ्दै गएको छ |
नेपालमा बर्णशंकर धानको को विकास र अनुसन्धानमा राज्यको लगानी कम छ जसले गर्दा किसानको लागि चाहिने बर्ण शंकर धानको जात रोजाईमा बिकल्प दिन सकीरहेको छैन | समय समयमा बर्ण शंकर धानको लागि आउने क्षमता अभिवृद्धि कार्यक्रम/तालिममा न पहिले कहिल्यै काम गरेका न त तालिम लिएपछी आएर केहि गर्न नसक्ने पहुचवाला हरु विदेश विदेश दौडाहामा लाग्दा दक्ष प्राबिधिकलाई अवसरको कमीले क्षमता बढ्न सकेको छैन र प्राबिधिकलाई आकर्षण गर्न नसक्दा बर्णशंकर धानमा काम गर्ने प्राबिधिकको कमि हुदै आएको छ |
बर्ण शंकर धानको बीउ उत्पादन गर्न बिशेषप्राविधिक ज्ञान, सिप को आवस्यकता पर्दछ | सामान्य भन्दा बढी कृषि मजदूरहरु बीउ उत्पादनमा लाग्ने हुदा यसको उत्पादन खर्च बढी छ र त्यो उत्पादन खर्च बीउ बिक्री मूल्य मा जोडीदा बर्ण शंकर धानको बीउ मूल्य बढी लाग्ने गर्दछ |देशको लागि आवस्यक पर्ने बीउ उत्पादनमा स्वदेशी बीउ कम्पनीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ तर ती कम्पनिहरुमा सरकारबाट सहयोग कम हुदा आवस्यक मात्रामा गुणस्तरीय बीउ उत्पादन कमि भइ प्रत्येक बर्ष बीउ आयात भइ रहेको छ | जलबायु बातावरणले पनि बर्णशंकर धानको उत्पादन मा असर गर्दछ | बातावरणको कारणले बीउ उत्पादन गर्ने पैत्रिक लाइन (माउ लाइन) को फुलहरुको फुल्ने समय एकनास नहुदा बीउ उत्पादनमा ह्रास आउछ तसर्थ बिगत लामो समयको मौसमी आकंडाका आधारमा बर्ण शंकर धान बीउ उत्पादन गर्ने उपयुक्त क्षेत्र पहिचान हुनु आवस्यक हुन्छ |
निष्कर्ष
बर्णशंकर धान बिकास र बिस्तार गर्न संयुक्त रुपमा सरकारी र निजि साझेदारी सहयोगबाट सम्भव हुन्छ | राज्यको बिशेष लगानी, प्राविधिक क्षमता वृद्धि, नियमन र बिशेष उत्पादन क्षेत्रको पहिचानबाट नै नया जातको विकास र विस्तार गर्न सकिन्छ | यसको प्रभाव किसानको आय आर्जनमा वृद्धि, धानको उत्पादकत्व वृद्धि र खाद्द्यान र बीउ आयात विस्थापन गरि स्वदेशी मुद्रा बिदेशिनबाटरोक्न सकिन्छ | त्यस्तै यो क्षेत्रमा रोजगारीको प्रचुर सम्भावना बोकेको हुनाले युवा पलायन रोकी राष्ट्रलाई आत्मनिर्भर बनाउन सकिन्छ |
बिश्वास राज बास्तोला र परमानन्द शर्मा
बैज्ञानिक, धानबाली प्रजनन् इकाई
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ, धनुषा
