जलेश्ववरटुडे समाचारदाता
जनकपुरधाम, १६ श्रावण
मधेशमा देखिएको जल संकट समाधानको माग गर्दै प्रतिपक्षी दलका नेताहरुले शुक्रबार सामूहिक रुपमा प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
साउनको तेश्रो साता सुरु भइसकेपनि वर्षा नहुँदा मधेशमा पानीको चरम संकट देखिएको छ । वर्षा नहुँदा एकातिर धान रोपाई हुन सकेको छैन् भने अर्कोतिर खानेपानीको समेत चरम अभाव हुन थालेको छ । मधेश प्रदेश सरकारले सुख्खाग्रस्त घोषणा गरेपनि हालसम्म ठोस कार्यक्रमहरु भने ल्याउन सकेको छैन् ।
पानी अभावमा ककाकुल बनेको मधेशको जनजीवन समान्य बनाउन प्रदेशका प्रतिपक्षी दलहरु सामूहिक रुपमै प्रदेश सरकारलाई ताकेता गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा गएको प्रतिपक्षी दलका नेताहरुको टोलीले मुख्यमन्त्री सतिश कुमार सिंहलाई १० बुंदे माग गर्दै ध्यानकर्षण पत्र बुझाएका हुन् ।
जल संकट समाधानका लागि सुख्खाग्रस्त क्षेत्रमा सिंचाइ, अन्नदाता किसानहरूलाई कृषि ऋणमा छुट, स्वच्छ खानेपानीको अभाव देखिएको शहर र गाउँमा खानेपानीको सहज आपूर्ती, चुरे वन संरक्षणका लागि दीर्घकालीन वैज्ञानिक योजना, चुरेबाट निकासी हुने गिट्टी, बालुवा उत्खनन नियन्त्रण तथा अबैध क्रसर उद्योग बन्द, भूमिगत सिंचाईका किसानले २ विग्हा जग्गाको लालपुर्जा बुझाउने अव्यवहारिक शर्त हटाउनुपर्ने तथा मधेश प्रदेशमा रहेका नदी, नहर, पैनी, तलाउसहितका सतही सिंचाई श्रोतलाई जिर्णोद्धारको माग गरिएको छ । यस्तै अधुरो अवस्थामा रहेका सतही र भूमिगत सिंचाईका योजनाहरु संचालनमा जोड दिनुपर्ने लगायतका १० बुंदे माग गर्दै ध्यानकर्षण पत्र बुझाएका हुन् ।
मधेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता युवराज भट्टराई, नेकपा एसका नेता कनिष पटेल, राप्रापाका कन्चन बिच्छा, नेपाल संघीय समाजबादी पार्टीका बिमला अन्सारी, जसपा, नेपालका प्रमुख सचेतक रामअशिष यादव लगायतको उपस्थिति रहेको थियो ।
