आरजे ईर्शाद शेख
महोत्तरी, २६ श्रावण

आनन्द मार्ग प्रचारक सङ्घ नेपाल महोत्तरी भुक्तिको आयोजनामा श्रावण २३ र २४ गते जलेश्वर नगरपालिका–२ स्थित जलेश्वरनाथ पार्टी प्यालेसमा दुई दिने डिट लेभल सेमिनार भव्य रूपमा सम्पन्न भएको छ।
सेमिनारको अध्यक्षता भुक्ति प्रधान योगनारायण यादवले गर्नुभएको थियो। कार्यक्रममा आनन्द मार्ग प्रचारक सङ्घ नेपालका वरिष्ठ आचार्यहरू आचार्य सत्य देवानन्द अवधूत, आचार्या आनन्द कल्याण माया, आचार्या आनन्द ध्रुति, आचार्य आनन्द सुब्रता लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर–कीर्तन, धर्मचक्र, ध्यान, अष्टाङ्ग योग साधना लगायत विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले मानव जीवनको उद्देश्य, प्राण धर्म, आध्यात्मिक अनुशासन र साधनाको महत्वबारे गहिरो चर्चा गरेका थिए।
आनन्द मार्ग प्रचारक सङ्घ नेपाल महोत्तरी भुक्तिका भुक्ति प्रधान योगनारायण यादवले “आनन्द मार्ग भनेको मानव जीवनलाई दिव्यतातर्फ लैजाने मार्ग हो,” भन्दै यसले मानिसलाई बाह्य भन्दा भित्री शान्ति र सन्तुलनमा जोड्ने कुरा बताउनुभयो।
कार्यक्रमको क्रममा २५ जना नयाँ साधकहरूलाई दीक्षा दिइएको थियो। उनीहरूलाई धर्म, आत्मा, जगत र परमसत्तासँगको सम्बन्धबारे गहिरो जानकारी दिइएको थियो।
महोत्तरी भुक्तिबाट सुमन कुमार पौड्याल, अहिल्या शर्मा, अमरदीप शाह, सोगेन्द्र ठाकुर लगायतका साधकहरूको सहभागिता रहेको थियो भने धनुषा भुक्तिबाट भुक्ति प्रधान सिन्धु हमाल, सचिव हेमन्तलाल कर्ण, वरिष्ठ आनन्दमार्गी कृष्णदेव यादव, नारायण विश्वकर्मा, जय नन्दन सहनी लगायत नेपाल बार एसोसिएसन महोत्तरीका अध्यक्ष दीपक विश्वकर्मा कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले साधना नै मानिसको धर्म भएको, मानव शरीर एक जैविक यन्त्र भएको र यसको सन्तुलित प्रयोगका लागि आध्यात्मिक अभ्यास आवश्यक रहेको बताउँदै “प्रगतिको मार्गमा साधना अपरिहार्य” भन्ने सन्देश दिएका थिए।
कार्यक्रममा सामाजिक दर्शन ‘PROUT’ (Progressive Utilization Theory) का विषयमा समेत चर्चा गरिएको थियो।

कार्यक्रमको समापनमा भुक्ति प्रधान योगनारायण यादवले “जीवनमा धन, पद, प्रतिष्ठाभन्दा आत्मिक शान्ति ठूलो हो। र, आनन्दमार्ग साधना नै मोक्ष प्राप्तिको उपाय हो,” भन्ने सन्देश दिनुभयो।
कार्यक्रम शान्तिपूर्ण रूपमा सफलताका साथ सम्पन्न भएको आयोजकले जानकारी दिए ।
