आरजे इर्शाद शेख
जलेश्वर, ७ भाद्र
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–३ स्थित गणिनाथ परिसरमा आयोजित श्री श्री श्री १०८ बाबा गोविन्द गणिनाथ पुजामहोत्सव समारोह अवसरमा भव्य सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
पुजामहोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा कार्यबाहक मुख्यमन्त्री सरोज कुमार यादव को विशेष उपस्थिति रहेको थियो। सो अवसरमा उनले बाबा गोविन्द गणिनाथ मन्दिरको व्यवस्थित निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै, पिपरा नगरपालिकाका अध्यक्ष रामजानकी यादवको सक्रिय पहलमा यसअघि नै मन्दिर निर्माणका लागि २० लाख रुपैयाँको सहयोग प्रदान भइसकेको छ। गोविन्द पूजा समितिले दुबै जनप्रतिनिधिको योगदानप्रति सार्वजनिक धन्यवाद ज्ञापन गरेको छ।
पुजामहोत्सव अन्तर्गत भदौ ६ गते शुक्रबार गणिनाथ परिसरमा सलामी कार्यक्रम सम्पन्न गरिएको थियो भने भदौ ७ गते शनिबार भव्य कलश यात्रा तथा गहवर पूजा सम्पन्न गरिएको थियो। कलश यात्रामा पालिकाका जनप्रतिनिधि, धार्मिक अगुवा, महिला समूह, युवा क्लब लगायत स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा कार्यबाहक मुख्यमन्त्री सरोज कुमार यादव,नेकपा एमाले महोत्तरी जिल्ला सचिव शम्भु ठाकुर, एमाले नेता रामआधार कापर, पूजा समिति अध्यक्ष विजय साह, सचिव मनोज कुमार साह, भगत दिपेन्द्र साह, साथै पालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।
स्थानीयवासीहरूले यस किसिमका कार्यक्रमहरूले सामुदायिक एकता, धार्मिक चेतना तथा सांस्कृतिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
