
आरजे इर्शाद शेख
महोत्तरी, ३० भदौं
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ५ बिसनपुरमा गए राति करिब १२ बजे ठूलो चोरी डकैतीको घटना भएको छ । मङ्गल महरा र बहादुर महराको घरमा करिब ३–५ जनाको समूहमा आएका अज्ञात चोरहरूले धारिलो हातहतियार प्रहार गर्दै घरका सदस्यहरूलाई घाइते बनाएर लाखौँ बराबरका गरगहना, सामग्री र नगद रकम चोरी गरेका छन् ।
घटनामा मङ्गल महाराकी पत्नी अंदाजी ५० वर्षीया सैलो देवी, छोरी मनिषा कुमारी र छोरा संजीव महरा गम्भीर घाइते भएका छन् । चोरहरूको समूहले धारिलो हातहतियार प्रयोग गरी उनीहरूलाई प्रहार गरेको र अहिले घाइतेहरूको उपचार जनकपुरमा भइरहेको प्रहरीले जनाएको छ । आज बिहान मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डल घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ। उहाँलाई घटनाबारे जानकारी वडा अध्यक्ष श्री मिश्री नायकले गराउनुभएको थियो । नगर प्रमुख मण्डलले यस किसिमका आपराधिक क्रियाकलापले समाजमा आतंक सिर्जना गरेको भन्दै अपराधीहरूलाई छिट्टै पक्रेर कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । स्थानीय बासिन्दाहरूले राति मध्यरातमा भएको उक्त घटनापछि असुरक्षाको भावना बढेको गुनासो गरेका छन्। घटनापछि प्रहरीले अनुसन्धान तीव्र पारेको र दोषीलाई छिट्टै पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।