जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ असोज
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ कुम्हरौडामा संचालित निःशुल्क ट्युशन सेन्टरका बालबालिकालाई स्थानीय एक युवाले स्टेशनरी लगायतको सामग्री वितरण गरेका छन् ।
कन्चनियाँ माई जेनरल स्टोरका संचालक समेत रहेका स्थानीय युवा श्यामसुन्दर साहले आफ्नी छोरी आकृति कुमारी साहको जन्मदिनको अवसर पारेर निःशुल्क ट्युशन सेन्टरमा अध्ययनरत्त बालबालिकालाई कलम, चकलेट लगायतका सामग्री वितरण गरेका हुन् ।
बिहीबार साँझ ट्युशन सेन्टरमै पुगेर साहले छोरीको जन्मदिनको अवसर पारेर बालबालिकालाई सो सामग्री वितरण गरे । हालका दिनहरुमा जन्मदिन, वर्षगाँठ लगायतको अवसरमा फजुल खर्च गर्ने होड नै चलेको छ । तामझामतर्फको खर्च कटौती गरेर साहले बालबालिकालाई शैक्षिक सामग्री वितरणलाई प्राथमिकता दिएका हुन् । जन्मदिनको अवसर पारेर ट्युशन सेन्टरका बालबालिकालाई गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कुम्हरौडा भगवतीपुर समाज सेवा दोहा कतारका अध्यक्ष देवेन्द्र साहले यस प्रकारको सकारात्मक र रचनात्मक परम्पराको विकास गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक संजाल फेसबुकमा सहयोगी साहलाई धन्यवाद ज्ञापन गर्दै यसले बालबालिकालाई पढ्नका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
गाउँकै सामुदायिक भवनमा संचालित निःशुल्क ट्युशन सेन्टरमा कार्यरत्त शिक्षकहरुको पारिश्रमिकसहित सम्पूर्ण व्यवस्थापन कुम्हरौडा भगवतीपुर समाज सेवा दोहा कतारले गरिरहेको छ ।
विदेशिएका युवाहरुको उक्त संगठनले संचालन गरेको निःशुल्क ट्युशन सेन्टरमा कुम्हरौडा र भगवतीपुरका १ देखि कक्षा ७ सम्मका १ सय ५० जना भन्दा बढी बालबालिका अध्ययनरत्त छन् ।
१४ महिना अघि उक्त ट्युशन सेन्टर संचालनमा ल्याएका युवाहरुको
चौतर्फी प्रशंसा भएको छ ।
