ओम प्रकाश साह
जनकपुरधाम, ११ असोज
सनातन धर्मावलम्बीहरुको महान् पर्व बडा दशैंको पावन अवसरमा आज श्री हरि मानव कल्याण मञ्चको मुख्य संयोजनमा तथा पर्यावरण अभियानी, हामी सबैका प्रेरणाका स्रोत, वृक्ष महा मानव आदरणीय श्री सुरेश शर्माको प्रमुख आतिथ्यमा ऐतिहासिक श्री नरसिंह स्थान, वसहियाको पवित्र प्राङ्गणमा दुर्लभ मानिने देव वृक्ष शिवलिङ्ग, पलास र रुद्राक्ष भक्तिभावपूर्वक रोपण गरिएको छ।
कार्यक्रममा उपस्थित धर्मावलम्बी, स्थानीयवासी र युवाहरूले यस वृक्षारोपण लाई धार्मिक आस्था र पर्यावरण संरक्षणको उत्कृष्ट संगमको रूपमा लिएका थिए। उपस्थितहरूले “हरेक बिरुवा हाम्रो जीवन रक्षा, स्वास्थ्य र वातावरणीय सन्तुलन कायम गर्ने आधार हो” भन्दै निरन्तर वृक्षारोपण र संरक्षणमा जोड दिए।
यस अवसरमा प्रमुख अतिथि श्री शर्मा ले आफ्नो मन्तव्य राख्दै भने, “वृक्षमा भगवानको वास हुन्छ, त्यसैले हाम्रा संस्कार र परम्परामा वृक्षको महत्त्व अत्यधिक छ। आज रोपिएका यी देव वृक्षले धार्मिक ऊर्जा मात्र होइन, हाम्रो वातावरणलाई पनि समृद्ध पार्नेछन्।”
कार्यक्रममा धार्मिक मन्त्रोच्चारणका बीच वृक्षारोपण सम्पन्न गरिएको थियो। सहभागीहरूले बडा दशैंको शुभकामना आदानप्रदान गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
यस किसिमका गतिविधि धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र हरियाली अभियानका लागि महत्त्वपूर्ण कदम भएको स्थानीयले बताएका छन्।
