जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १७ असोज
महोत्तरीको खयरमारामा शुक्रबार बिहान भएको बस दुर्घटनाका ६ घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
सुरक्षा निकायले गम्भीर घाइतेको उद्धार गरी सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीमा लगि त्यहाँबाट सैनिक हेलिकोप्टरमा काठमाडौं लगिएको हो । काठमाडौंमा ट्रमा सेन्टरमा उनीहरुको थप उपचार अघि बढाइएको छ । घाइतेको उद्धारमा सशस्त्र प्रहरी बलले मास क्याजल्टी भेहिकल प्रयोग गरेको थियो । विपद्को समयमा उद्धारका लागि यस्तो एम्बुलेन्स प्रयोग गरिन्छ ।
जून एम्बुलेन्समा एकैपटक धेरै घाइतेलाई राख्न सकिन्छ । दुर्घटनास्थलदेखि बाहिनीसम्म र विमानस्थलबाट ट्रमा सेन्टरसम्म लैजान पनि सोही प्रकारको उपत्यका गणको एम्बुलेन्स प्रयोग गरेको थियो । महोत्तरीको बर्दिबास नगरपालिका १० की ४४ वर्षिया निर्मला तामाङ, ४२ वर्षका दिर्जमान गोले, १६ वर्षकी अस्मिता गोले, २० वर्षकी सुनीता बिक, २३ वर्षकी बिना कुमारी बिसुंखे र सर्लाही ईश्वरपुर नगरपालिका १२ का १३ वर्षीय प्रभाकर खड्कालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना मिलेर घाइतेको उद्धार गरेका हु्न । छिन्नमस्ता बाहिनीका डिआइजी कृष्ण ढकाल आफैं घटनास्थल पुगेर उद्धारमा खटिएका थिए। त्यस्तै, सशस्त्र प्रहरीको ९ नम्बर गण र ३८९ नम्बरको रिजर्भ गणका प्रहरी पनि उद्धारमा खटिएका थिए ।
सर्लाहीको ईश्वरपुर नगरपालिका १३ घारीबथानबाट यात्रु लिएर बर्दिवास हुँदै काठमाडौं जान लागेको ना ६ ख १४६४ नम्बरको बस शुक्रबार बिहान सवा ७ मा दुर्घटनामा परेको थियो । तिव्र गतिका कारण बस दुर्घटनामा परेको आकलन गरिएको छ । दुर्घटनामा बसका यात्रु १२ वर्षिय प्रमिश खड्का र पैदलयात्रु चोलाही चौधरीको मृत्यु भएको छ ।
