मधेस प्रदेशमा सत्ता लोभ र जेनजी आन्दोलन – Jaleshwortoday

मधेस प्रदेशमा सत्ता लोभ र जेनजी आन्दोलन

 October 9, 2025  
Jaleshwor Today Editorial

मधेस प्रदेशमा अहिले सत्ता लोभका कारण राजिनामा दिएको मुख्यमन्त्री समेत पद छोडन चाहेको छैन भने प्रतिपक्ष दलहरु उनलाई पदच्यूत गर्न लागि परेको देखिन्छ । जेनजी आन्दोलनको पक्कै पनि यो मर्म थिएन । मधेस सहित समग्र देशलाई नयाँ नेपालको ढाँचामा ढाल्न सहादत प्राप्त जेनजी आन्दोलनको उद्देश्य कदापि मधेस प्रदेशमा देखिएको सत्ता लोभलाई उत्प्रेरित गर्नु थिएन ।
हिजोको इतिहास र आजको संघर्षको स्वरूप फरक भएता पनि लक्ष्य त नयाँ नेपाल सिर्जना गर्ने, राष्ट्रको रक्षा र भविष्यको उज्यालो किरणले देशलाई झकिझकाउ पार्ने नै हुनु पर्दछ । आज नयाँ पुस्ताको यो बलिदानले अवश्य पनि नयाँ नेपाल कोरिने देखिन्छ र पुराना पुस्ताले यसलाई सहयोग र समन्वय देखाउन अति आवश्यक रहेको देखिन्छ । फेरि पनि पुरानै ढिपी र स्वार्थभाव बोकेका अरिंगालको हातमा प्रदेश तथा देश नपरोस् । वास्तवमा भन्ने हो भने जेन–जीलाई असफल गर्ने काम कसैले नगरौं । जेन–जीका नाममा अबका दिनमा कसैले धमिलो पानीमा झैं माछा मार्ने काम नगरौं । सम्भावनाको बाटो देखाउनु नै हामी सबैको जिम्मेवारी र दायित्व रहेको देखिन्छ ।
अत्याचारले सीमा नाघेपछि निस्केका ती निर्देश सपनाहरूको हिजो र आजको लडाइँबीच केही फरक भए पनि लक्ष्य भने एउटै रहेको देखिन्छ । पार्टीगत भागबण्डा भन्दा पनि मधेस प्रदेशलाई सबल र आत्मनिर्भर बनाउन सक्ने व्यक्ति नेतृत्व पँक्तीमा आउन जरुरी रहेको देखिन्छ । मात्र ठुलो कुरा गरेर हुने रहेन छ । व्यवहारमा लागु गरी समग्र मधेसलाई चौतर्फी विकासको बाटोमा डोर्याउन सक्ने साहसी तथा निस्वार्थ व्यक्तिको खाँचो रहेको छ यहाँ । जेनजी समेतले अहिले आफ्नो सुझाव राख्न आवश्यक रहेको देखिन्छ ।