आरजे इर्शाद शेख
महोत्तरी, ३१ असोज
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज विशेष कार्यक्रम आयोजना गरी ७०औँ प्रहरी दिवस धुमधामका साथ मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले देश र जनताको सुरक्षाका लागि समर्पित सम्पूर्ण प्रहरीहरूलाई प्रहरी दिवसको शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रहरीलाई जिम्मेवारीपूर्वक र इमानदार भएर काम गर्न आग्रह गर्दै “प्रहरी जनताको सुरक्षाको पहिलो पंक्तिमा खटिने राज्यको मुख्य सुरक्षा निकाय हो, यसको अनुशासन, इमान र निष्ठा नै संस्थाको पहिचान हो,” भन्नुभयो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्भ शर्माले देश र जनताको सुरक्षाका लागि नेपाल प्रहरी सधैं अग्रपंक्तिमा रहँदै आएको बताउँदै सहिद प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले “अमर प्रहरीहरू हाम्रो गौरव हुन्, उनीहरूको सम्झनाले हामीलाई थप जिम्मेवार बनाउँछ,” भन्नुभयो ।
कार्यक्रममा उत्कृष्ट कार्यका लागि प्रहरी नायब उपरीक्षक सैलेन्द्र भट, प्रहरी निरीक्षक अशोक झा, नन्दकिशोर चौहानसहित दर्जनौँ प्रहरीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी देशका लागि ज्यान आहुति दिने अमर प्रहरीका परिवारलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
विगतमा सेवा पुर्याएका पूर्व प्रहरीहरूलाई पनि सम्मान गरी संगठनप्रतिको योगदानको कदर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्रहरी दिवसको अवसरमा समुदायसँगको सहकार्य र विश्वास अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ ।
