आरजे इर्शाद शेख
महोत्तरी, १ कार्तिक
युरोपियन युनियनको आर्थिक सहयोगमा, सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारी तथा मटिहानी नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको “गुणस्तरीय शिक्षाः कोही पनि पछाडि नपरून्” कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको छ।
उक्त कार्यक्रम विशेष गरी असहाय, अपांग, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका बालबालिकालाई लक्षित गरिएको हो। विद्यालयसम्म पुग्न कठिनाई भोगिरहेका तथा पठनपाठनमा संलग्न हुन चुनौती सामना गरिरहेका बालबालिकालाई अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको आयोजक संस्थाहरूले जनाएका छन्।
कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाका सम्सी गाउँपालिका तथा मटिहानी नगरपालिकाबाट छनोट गरिएका ५० जना विद्यार्थीलाई विद्यालय झोला — १ थान,विद्यालय पोसाक (सर्ट÷प्यान्ट) — १÷१ थान,स्टिल पानी बोतल — १ थान,२०० पृष्ठका कापी — १० थान,डटपेन (टेक्नोटिप) — ५ थान,औजार बाकस — १ थान,पेन्सिल — १० थान,इरेजर — ५ थान र कटर — ५ थान शैक्षिक सामग्रीहरू प्रदान गरिएका छन् ।
सामग्री वितरण कार्यक्रम सम्बन्धित विद्यालयका प्रधानाध्यापक, स्थानीय वडाध्यक्षहरू, विद्यार्थीका अभिभावक तथा सरोकारवाला निकायहरूको सहभागितामा सम्पन्न भएको हो। कार्यक्रमका आयोजकहरूले सो वितरणले विपन्न तथा पछाडि पारिएका वर्गका बालबालिकामा शिक्षाप्रतिको अभिरुचि अभिवृद्धि गर्नुका साथै विद्यालयमा उनीहरूको नियमित उपस्थितिलाई सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
