
धनतेरस हिन्दुहरुको एक महान आस्थाको पर्व हो । यसमा सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने परम्परा छ । साथै, यही दिन आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मोत्सव पनि मनाइन्छ । सोही दिन भगवान विष्णुको पनि पूजा गर्ने चलन छ । सम्पूर्ण विश्वबासीहरु दीर्घायु र निरोगी हुन् भन्ने कामना गर्दै उनको पूजा गर्ने गरिएको हो। धार्मिक विश्वास अनुसार, यस दिन धातुका भाँडावर्तन वा सुनचाँदीका गरगहना किन्नेले लक्ष्मीको आशीर्वाद पाउँछन्।
हिन्दू धर्म र पौराणिक कथाहरूमा भगवान धन्वन्तरीलाई आयुर्वेदका देवता, चिकित्सकहरूको संरक्षक, स्वास्थ्य, समृद्धि र दीर्घायुका प्रतीकका रूपमा मानिन्छ । उनी भगवान विष्णुको अवतार हुन् र पूर्वीय चिकित्सा विज्ञानका प्रथम आचार्य पनि मानिन्छन्। धन्वन्तरीले देव–असुर संग्रामका बेला भगवान विष्णुको अवतारका रूपमा प्रकट भई देवताहरूको उपचार गरेका थिए। त्यसैले, उनलाई भगवान राम र श्रीकृष्णकै स्तरमा राखी पूजा गर्ने परम्परा रहिआएको छ। महाभारत, विष्णु पुराण, अग्नि पुराण र श्रीमद्भागवत महापुराणमा धन्वन्तरीको महिमा उल्लेख गरेको पाइन्छ। धन्वन्तरीको जन्म समुद्र मन्थनको समयमा भएको थियो, जुन देवता र असुरबीचको ऐतिहासिक घटना हो। क्षीरसागर (दूधको सागर) मा मन्दराचल पर्वतलाई मथानी र वासुकी नागलाई डोरी बनाएर समुद्र मथिँदै थियो । भगवान विष्णुले कूर्म (कछुवा) अवतार लिएर पर्वतलाई आधार दिएका थिए। मन्थनको क्रममा अनेक दिव्य वस्तुहरू प्रकट भए । लक्ष्मीदेवी, पारिजात वृक्ष, ऐरावत हात्ती, चन्द्रमा, कौस्तुभ मणि, कामधेनु गाई, आदि। ती सबैमध्ये एक दिव्य स्वरूपमा भगवान धन्वन्तरी अमृतको कलश लिएर समुद्रबाट प्रकट भए । उनी चार हात भएका, तेजस्वी र सुन्दर स्वरूपका थिए । हातमा अमृत कलश, शंख, चक्र र औषधीय जडीबुटी बोकेका। यो प्रतीकले स्वास्थ्य, उपचार र अमरत्वको संकेत गर्छ।