आरजे इर्शाद शेख
महोत्तरी ,५ कार्तिक
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६, साहुजी पट्टि स्थित वडा कार्यालय नजिकै दिउँसो रोकिराखिएको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।
आगलागीमा परेर क्षति पुगेको उक्त बस महोत्तरी टाइगर नामक कम्पनीअन्तर्गत राम बाबु नायकको स्वामित्वमा रहेको प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरको बस रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
घटना अन्दाजी १२:५५ बजे तिर भएको हो। आगो लागेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माको नेतृत्वमा २० जना प्रहरी, सशस्त्र प्रहरी बल गण नं. ९ का सप्र उपरीक्षक शेर बहादुर अधिकारीसहित २२ जना सशस्त्र प्रहरी, नेपाली सेनाको गोरखनाथ गणबाट सेनानी रामप्रसाद लामिछाने नेतृत्वमा २० जना सैनिक र जलेश्वर नगरपालिकाको दमकल टोली घटनास्थलमा परिचालित भएको थियो।
सहकार्यमा गरिएका प्रयासपछि करिब १३:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
हालसम्म आगलागीको कारण खुल्न सकेको छैन भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ। यद्यपि बस आंशिकरूपमा जलेर क्षतिग्रस्त भएको बताइएको छ।
