आरजे इर्शाद शेख
महोत्तरी, ७ कार्तिक
महोत्तरी जिल्लाको मटिहानी, धनुषाको तुलसियाही र भारत बिहारको मधवापुर–रामपुरमा छठ पर्व मनाउनका लागि बिगही नदी (खोला) किनारमा करिब दुई किलोमिटर लामो दूरीमा टेन्टसहित भव्य छठघाट निर्माण गरिएको छ।
यो छठघाट नेपालकै सबैभन्दा लामो दूरीमा निर्माण गरिएको छठघाट भनिएको छ ।
सांस्कृतिक एकता र धार्मिक सहअस्तित्वको प्रतीकका रूपमा यो छठघाटलाई नेपाल–भारत मैत्री र सांस्कृतिक संगम स्थलका रूपमा चिनिएको छ।
पहिलो दिन शनिवार ‘नहाय-खाय’ मनाइँदैछ । ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा-अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।
पारिवारिक सुख-समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन आइतबार खरना रहेको छ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ ।
तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिने चलन छ । अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ्य अर्पण गरिन्छ।
अर्घ्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।
तराई–मधेशका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन् । जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तालजस्ता ऐतिहासिक जलाशयहरू नवदुलहीझैं सिंगारिने क्रम जारी छ । मिथिलाञ्चल र सम्पूर्ण तराई-मधेश अहिले छठ गीतका मधुर स्वरले गुन्जायमान बनेका छन् ।
