आरजे इर्शाद शेख
महोत्तरी, १३ कार्तिक
महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयवासीले हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । बुधबार अपराह्न नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही वडाका गोविन्द यादवकी १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको हो ।
स्थानीय सन्ध्या यादवसँगै साइकलमा सवार बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जानकी एकेडमिक हस्पिटल, महोत्तरी पुर्याइएको थियो । तर, उपचारको क्रममा बुधबार राति नै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
डिएसपी भट्टका अनुसार कालो ज्याकेट लगाएका व्यक्ति सवार मोटरसाइकलले ठक्कर दिएर भागेका हुन् । ठक्कर दिने मोटरसाइकल र चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
दोषीको खोजी र कारबाहीको माग गर्दै आक्रोशित स्थानीयवासीले बिहीबार बिहान ११ बजेदेखि हुलाकी राजमार्गको कटुधार खण्डमा अवरुद्ध गरेका थिए ।
इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार र स्थानीयबीच भएको वार्तापछि एक महिनाभित्र दोषी पत्ता लगाई कारबाही प्रक्रिया अघि बढाउने र सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्ने सहमति भएपछि स्थानीयले सडक अवरुद्ध खोलेका छन् ।
मृत बालिकाको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
