महोत्तरीमा बालिकाको मृत्यु भएपछि सडक अवरुद्ध – Jaleshwortoday

महोत्तरीमा बालिकाको मृत्यु भएपछि सडक अवरुद्ध

 October 30, 2025  
7474

आरजे इर्शाद शेख
महोत्तरी, १३ कार्तिक

महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयवासीले हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । बुधबार अपराह्न नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही वडाका गोविन्द यादवकी १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको हो ।

स्थानीय सन्ध्या यादवसँगै साइकलमा सवार बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जानकी एकेडमिक हस्पिटल, महोत्तरी पुर्‍याइएको थियो । तर, उपचारको क्रममा बुधबार राति नै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।

डिएसपी भट्टका अनुसार कालो ज्याकेट लगाएका व्यक्ति सवार मोटरसाइकलले ठक्कर दिएर भागेका हुन् । ठक्कर दिने मोटरसाइकल र चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

दोषीको खोजी र कारबाहीको माग गर्दै आक्रोशित स्थानीयवासीले बिहीबार बिहान ११ बजेदेखि हुलाकी राजमार्गको कटुधार खण्डमा अवरुद्ध गरेका थिए ।

इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार र स्थानीयबीच भएको वार्तापछि एक महिनाभित्र दोषी पत्ता लगाई कारबाही प्रक्रिया अघि बढाउने र सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्ने सहमति भएपछि स्थानीयले सडक अवरुद्ध खोलेका छन् ।

मृत बालिकाको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।