आरजे इर्शाद शेख
महोत्तरी, १७ कार्तिक
स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा आइतबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम आगामी कार्तिक २० र २१ गते देशभर सञ्चालन हुने पोषण विशेष तथा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सम्बन्धी जानकारी तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ गरिएको हो।
कार्यक्रम स्वास्थ्य कार्यालय महोत्तरीको तालिम हलमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रियामा वक्ताहरूले बालबालिकाको स्वास्थ्य सुदृढीकरणका लागि भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे। सो अवसरमा स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले कार्तिक २० र २१ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि वितरण गरिने जानकारी दिए। साथै, सञ्चारकर्मीहरू मार्फत आम जनसमुदायमा सन्देश पुर्याई जनसहभागिता बढाउन आग्रह गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साह, जिल्ला स्वास्थ्य शाखाकी प्रतिभा सिंह, जिल्लाका विभिन्न सञ्चार संस्थाका पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
