जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ कार्तिक

बर्दिबासस्थित एक होटलमा शपथ ग्रहण गरेर मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवविरुद्ध सात दलका प्रदेश सांसदहरु मंगलबार सडकमा धर्ना बसेका छन् ।
मधेश भवनको मुलगेट अगाडी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्यहरु सडकमा धर्ना बसेर नवनियुक्त मुख्यमन्त्री यादवको विरोध गरेका हुन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी उपचारको क्रममा काठमाण्डौ जाँदै गर्दा बर्दिबासस्थित एक होटलमा एकाबिहानै यादवलाई पद तथा गोपनीयताको सपथ गराइन् । सपथ गराएर प्रदेश प्रमुख भण्डारी काठमाण्डौ लागेका थिए । मुख्यमन्त्री यादवले आफू कानून संवत नियुक्त भएको दावी गर्दै आएपनि उनको नियुक्ती प्रक्रियालाई लिएर सामाजिक संजालमा आलोचना भइरहेको छ । प्रदेश प्रमुखको भूमिकामै प्रश्न उठेपछि सुशिला कार्की नेतृत्वको संघीय सरकारले भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । भण्डारी मंगलबार पदमुक्त भइसकेकी छन् ।
यसअघि सोमबार पनि सात दलका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदेश गरेका थिए । प्रदेश प्रमुखलाई दबाब दिएर मुख्यमन्त्रीमा नियुक्ती र सपथ ग्रहण गर्न लगाएको आरोप सात दलका नेताहरुको छ ।
सात दलका ७४ जना सांसदको हस्ताक्षरसहित नेताहरु मंगलबार सर्वोच्चमा मुद्दा दर्ता गराएका छन् ।
