आरजे इर्शाद शेख
महोत्तरी, ३० कार्तिक
स्वास्थ्य कार्यालय महोत्तरी, जलेश्वरद्वारा आयोजना गरिएको दुई दिने जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी आजदेखि आर.एस. थकाली होटल, जलेश्वरमा प्रारम्भ भएको छ।

गोष्ठीको उद्घाटन स्वास्थ्य कार्यालय महोत्तरीका कार्यालय प्रमुख नवल किशोर साहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य कार्यक्रमहरूको समग्र प्रगति, हासिल उपलब्धि, देखिएका चुनौती तथा आगामी वर्षका योजनामाथि विस्तृत रूपमा समीक्षा तथा छलफल भइरहेको छ।
गोष्ठीमा सहभागीहरूले जिल्लामा सञ्चालन भएका स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको प्रभावकारिता, सेवा पहुँच, उपलब्ध स्रोत–साधनको उपयोग, कार्यक्रमको गुणस्तर तथा सुधार आवश्यक पक्षबारे प्रस्तुति तथा विमर्श गरिरहेका छन्। स्वास्थ्य सेवाको समन्वय, कार्यान्वयन चुनौती समाधान तथा आगामी नीति–दिशानिर्देशन तय गर्न गोष्ठी महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
दुई दिनसम्म चल्ने कार्यक्रममार्फत महोत्तरी जिल्लाको स्वास्थ्य क्षेत्रका प्राथमिकता, योजना र कार्यसूचीलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने आधार तयार हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालयका प्रमुख सरोज चन्द्र न्यौपाने, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, रामप्रसाद लामिछाने, गणपति श्री गोरखनाथ, सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारी, स्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंह लगायत जिल्लास्थित विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
