आरजे इर्शाद शेख
महोत्तरी, १ मंसिर
स्वास्थ्य कार्यालय महोत्तरी, जलेश्वरद्वारा आयोजना गरिएको दुई दिने जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी सोमबार जलेश्वरस्थित आर.एस. थकाली होटलमा सुरु भएर सफलतापूर्वक सम्पन्न भएको छ।

गोष्ठीको उद्घाटन सत्र स्वास्थ्य कार्यालय महोत्तरीका कार्यालय प्रमुख नवल किशोर साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको समग्र प्रगति, हासिल उपलब्धि, चुनौती तथा आगामी वर्षका प्राथमिकता योजनाबारे विस्तृत समीक्षा तथा छलफल गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको आधारमा १५ वटै पालिकाको कार्यसम्पादनको तुलनात्मक मूल्यांकन गरिएको गोष्ठीमा औरही पहिलो, मठिहानी दोस्रो र मनराशिश्वा तेस्रो स्थानमा परेका छन्।
यही आधारमा जिल्लाको स्वास्थ्य सेवा सुधारका आवश्यक पक्ष, कार्यक्रमको प्रभावकारिता तथा सेवा विस्तारका उपायबारे विषयगत प्रस्तुति, समूह छलफल र सुझाव सत्रहरू सञ्चालन भए।

सहभागीहरूले जिल्लाभरका स्वास्थ्य सेवा कार्यक्रमहरूको प्रभावकारिता, सेवा पहुँच, उपलब्ध स्रोत–साधनको उपयोग, कार्यान्वयनका चुनौती तथा सुधारका सम्भावनाबारे विस्तृत रूपमा प्रस्तुत गरेका थिए।
गोष्ठीले समन्वय सुदृढीकरण, प्रणालीगत सुधार, गुणस्तरीय सेवा विस्तार र आगामी नीतिगत दिशानिर्देशन तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालयका प्रमुख सरोज चन्द्र न्यौपाने, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, रामप्रसाद लामिछाने, गणपति श्री गोरखनाथ, सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारी, स्वास्थ्य कार्यालयकी फोकल पर्सन प्रतिभा सिंह लगायत जिल्लास्थित सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
दुई दिनसम्म चलेको गोष्ठीमार्फत महोत्तरी जिल्लाको स्वास्थ्य क्षेत्रका प्राथमिकता, आगामी वर्षका योजना र कार्यसूचीलाई थप प्रभावकारी, दिगो र व्यवस्थित बनाउने आधार तयार भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
