जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ मंसिर
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएको छ ।
बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रिया मार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो ।
योसँगै उनी पदमुक्त भएका छन् । प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी हुन् । उनका अनुसार प्रदेश सभा बैठकमा ७८ सांसदको उपस्थित थियो । गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक डाकिएको थियो ।बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सो प्रस्ताव छलफलका लागि बैठकमा पेश गरेका थिए । सो उपरको छलफलमा लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका प्रदेश सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी प्रदेश सांसदहरू जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद गणेश पटेल र प्रमोद यादवले आफ्ना धारणा राखेका थिए ।
