आरजे इर्शाद शेख
महोत्तरी, ६ मंसिर

विवाह पंचमी महोत्सवअन्तर्गत तेस्रो दिन मटिहानीमा आज माता सीताको मटकोर धार्मिक विधिअनुसार सम्पन्न गरिएको छ। मटिहानी नगरपालिका–७ स्थित पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वको लक्ष्मी सागर पोखरीमा आयोजित कार्यक्रममा भक्ति, श्रद्धा र उल्लासपूर्ण वातावरण देखिएको थियो। पोखरी परिसरमा आयोजित झाँकी, लोकगीत, बाजागाजा तथा भक्तजनहरूको ठूलो सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

त्रेतायुगमा भगवान् राम–सीताको विवाहका लागि वेदी निर्माण गर्न आवश्यक माटो यिनै पोखरीबाट संकलन गरिएको किम्बदन्ती रहिआएको छ। सोही मान्यताको निरन्तरता स्वरूप प्रत्येक वर्ष विवाह पंचमीको अवसरमा मटकोर कार्यक्रम भव्य रूपमा आयोजना हुँदै आएको छ।

लक्ष्मी नारायण मठ मटिहानी र साधु सेवा समिति जनकपुरधामको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, मठका मान महन्थ जगरनाथ दास बैष्णव, उत्तराधिकारी महन्थ रबिन्द्र दास बैष्णव, महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्भ शर्मा, शसस्त्र प्रहरी बल नं. ९ जलसागरका प्रमुख शेर बहादुर अधिकारी, वडा नं. ७ का अध्यक्ष जितनारायण माझी तथा मधवापुर ग्रामपंचायतका सरपंच बलरामजीसहित स्थानीय जनप्रतिनिधि, साधु–सन्त र ठूलो संख्यामा भक्तजन उपस्थित थिए।

कार्यक्रममा प्रस्तुत भएका विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रमले मिथिलाञ्चलको सांस्कृतिक पहिचान, राम–सीताको पौराणिक प्रसंग तथा विवाह पंचमी पर्वको ऐतिहासिक महत्त्वलाई उजागर गरेका थिए। धार्मिक संस्कार, परम्परा र सांस्कृतिक ऊर्जा संगै प्रवाहित इस कार्यक्रमले स्थानीय क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजक संस्थाले जनाएको छ।

मटकोरमार्फत संकलित पवित्र माटो जनकपुरधामस्थित जानकी मन्दिरमा लैजाई आगामी दिनमा सम्पन्न हुने विवाह सम्बन्धी प्रमुख धार्मिक विधिहरूमा प्रयोग गरिनेछ।
