आरजे इर्शाद शेख
महोत्तरी, ११ पुस
सुर्तीजन्य पदार्थ,मादक पदार्थ, लागूऔषध तथा नशाजन्य पदार्थको नियन्त्रण, नियमन तथा न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम पिपरा गाउँपालिकामा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरी तथा स्वास्थ्य कार्यालय महोत्तरीको संयुक्त आयोजनामा मिति २०८२/०९/११ गते पिपरा गाउँपालिका अन्तर्गत जनता अस्पतालको सभा हलमा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरिएको थियो।
कार्यक्रममा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले मादक पदार्थ तथा लागुऔषधको दुरुपयोगले समाज, विशेषगरी युवापुस्तामा गम्भीर असर पारेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले युवालाई सचेत बनाउने तथा रोकथाममुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले लागूऔषध नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र समुदायको भूमिकाबारे जानकारी गराए। त्यस्तै पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संतोष कुमार मिश्राले पालिकाको तर्फबाट नियन्त्रण तथा न्यूनीकरणका लागि गरिएका प्रयासबारे प्रकाश पारे।
कार्यक्रममा वडा अध्यक्ष किशोरी अधिकारी, संजीत यादव, माधवेंद्र झा, बैदेही पासवान, राजेश कुमार दास, हरि शंकर प्रसाद यादवलगायतले लागूऔषध समस्याका स्थानीय अवस्था र समाधानका उपायबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा राजर्षि जनक क्याम्पस, जनकपुरका डीन डा. सुदीप यादवले नशाजन्य पदार्थको स्वास्थ्य तथा सामाजिक प्रभावबारे प्रस्तुति दिएका थिए। साथै स्वास्थ्य निर्देशनालय सफीका प्रशिक्षक विपिन पाण्डेयले लागूऔषधको प्रकार, पहिचान र रोकथामका उपायबारे प्रशिक्षणात्मक जानकारी दिएका थिए।
त्यसैगरी पिपरा स्वास्थ्य शाखा प्रमुख विरेंद्र राय,पिपरा जनता अस्पतालका सुपरिन्टेन्डेन्ट सन्तोष यादव, स्वास्थ्य कार्यालय महोत्तरीका अशोक कुमार यादव, स्वास्थ्य अधिकृत रामनाथ साह, राम दयाल महतो, रंधिर यादवलगायत प्रहरी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले मादक पदार्थ तथा लागुऔषध नियन्त्रणमा समुदायस्तरमा सचेतना अभिवृद्धि हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।
