आरजे इर्शाद शेख
महोत्तरी, २२ पुस
प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित माथिल्लो बरडाँडा क्षेत्रमा लगाइएको ठूलो परिमाणको गाँजा खेती नष्ट गरेको छ।
मिति २०८२ साल ०९ महिना २२ गते बिहान करिब ९ बजे जिल्ला प्रहरी कार्यालय महोत्तरीको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले करिब ४ बिघा क्षेत्रफलमा लगाइएका अन्दाजी ५१ हजार गाँजाका बोट फँडानी गरी नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टको कमाण्डमा १७ जना, इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी निरीक्षक बिनय कुमार सिंहको कमाण्डमा १५ जना, इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा १० जना तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट प्रहरी नायव निरीक्षक सरोज अधिकारीको कमाण्डमा ४ जना गरी जम्मा ४६ जनाको टोली परिचालन गरिएको थियो।
लागू औषध नियन्त्रण अभियान अन्तर्गत उक्त गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ।
