महोत्तरीमा निर्वाचन सुरक्षा सम्बन्धी नीति–निर्देशन कार्यक्रम सम्पन्न – Jaleshwortoday

महोत्तरीमा निर्वाचन सुरक्षा सम्बन्धी नीति–निर्देशन कार्यक्रम सम्पन्न

 February 8, 2026  
1

मो.ईर्शाद
महोत्तरी, २५ माघ

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै जिल्ला महोत्तरीमा सुरक्षा परिचालन सम्बन्धी नीति–निर्देशन कार्यक्रम सम्पन्न गरिएको छ।

जलेश्वर नगरपालिका–७ स्थित मनिपाल ग्राउन्डमा आयोजित कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले प्रशिक्षणरत निर्वाचन प्रहरीहरुलाई विस्तृत निर्देशन दिएका हुन्।

कार्यक्रमका क्रममा डीआईजी थपलियाले निर्वाचन आचारसंहिता पालनाका महत्वपूर्ण बुँदाहरू, मतदान स्थल तथा मतदान केन्द्रमा खटिने प्रहरीको भूमिका, दायित्व र आचरणबारे स्पष्ट जानकारी गराउँदै शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सम्पूर्ण सुरक्षाकर्मीलाई उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

उनले मतगणना स्थलमा सुरक्षाको संवेदनशीलता, भीड व्यवस्थापन, मतदाता सहयोग, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने विधि तथा निर्वाचन प्रक्रियामा सुरक्षा चुनौतीहरूको पहिचान र समाधानबारे समेत व्यावहारिक प्रशिक्षण आवश्यक भएको उल्लेख गरे।

कार्यक्रममा निर्वाचन सुरक्षा तयारीमा खटिएका विभिन्न तह–तप्काका प्रहरी अधिकृत तथा जवानहरूको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।