मो.इर्शाद
जलेश्वर, २ फागुन
जलेश्वर नगरपालिका वडा नं.–१ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा आज महाशिवरात्रिको पावन अवसरमा भव्य कलश शोभा यात्रा निकालिएको छ।
बिहानैदेखि सुरु भएको शोभा यात्राले धार्मिक उत्साह, भक्तिभाव र सांस्कृतिक रौनकले जलेश्वरबासीलाई आकर्षित गरेको थियो।
शोभा यात्रामा विभिन्न विद्यालयका विद्यार्थी, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, नेपाल प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपीलगायत सुरक्षा निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यस्तै, हजारौँ स्थानीय श्रद्धालु भक्तजनहरूको सहभागिताले वातावरण झनै भव्य र मंगलमय बनेको थियो।
कलश शोभा यात्राले जलेश्वरका प्रमुख मार्गहरू परिक्रमा गर्दै अन्ततः जलेश्वरनाथ महादेव मन्दिरको अगाडि सम्पन्न भयो।
सहभागीहरूले ‘हर हर महादेव’का जयघोषसँगै शान्ति, समृद्धि र सद्भावका लागि प्रार्थना गरेका थिए।
महाशिवरात्री नजिकिँदै गर्दा जलेश्वर क्षेत्रमा धार्मिक र सांस्कृतिक गतिविधिहरू तीव्र बन्दै गएका छन्।
शोभा यात्राले शहरको धार्मिक पहिचान र आस्थालाई थप उजागर गरेको स्थानीयहरूले बताएका छन्।
