बिनोद कुमार साह
जनकपुरधाम, १४ जेष्ठ
मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धनुषा तथा महिला पतंजली योग समिति धनुषाको संयुक्त आयोजनामा ४ दिवसीय निःशुल्क योग शिविर आज बिहीबार सम्पन्न भएको छ।
शिविरमा प्रमुख योग प्रशिक्षक तथा नेपाल राष्ट्रिय महिला प्रभारी साध्वी देवादिती द्वारा सहभागीहरूलाई योग, प्राणायाम, ध्यान तथा स्वस्थ जीवनशैली सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको हो।
बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भएको अभ्यास कार्यक्रममा विभिन्न उमेर समूहका स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने, तनाव नियन्त्रण गर्ने तथा सकारात्मक जीवनशैली विकास गर्न सहयोग पुग्ने विषयमा जानकारी गराइएको थियो।
साध्वी देवादितीले “सम्पूर्ण नेपालीहरू योग गरौँ, निरोग रहौँ” भन्ने सन्देशलाई आत्मसात् गर्दै योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन आग्रह गर्नुभयो। उहाँले योग केवल व्यायाम मात्र नभई अनुशासित, स्वस्थ र आध्यात्मिक जीवनको आधार भएको बताउनुभयो।
कार्यक्रममा विशेष उपस्थित रहेका मनोज कुमार साह ले योगले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।
आयोजक समितिका पदाधिकारीहरूले यस्ता योग शिविरले समाजमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै युवापुस्तालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
शिविरमा स्थानीय बुद्धिजीवी, समाजसेवी, महिला समूह, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
