दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम,असार २९
जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न उपमहानगरपालिकाको १५औँ नगरसभामा नगरप्रमुख मनोजकुमार साहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमा आन्तरिक आय वृद्धि, पूर्वाधार विकास, दिगो तथा व्यवस्थित शहरी विकास र उत्थानशीलता परियोजनालाई प्रमुख प्राथमिकतामा राखिएको छ। नगरप्रमुख साहका अनुसार बजेटले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै आर्थिक तथा सामाजिक विकासलाई समेत गति दिने अपेक्षा गरिएको छ।
बजेटका लागि नेपाल सरकारबाट ३० करोड ५९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान, प्रदेश सरकारबाट करिब २ करोड रुपैयाँ समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त अनुदान तथा चालु आर्थिक वर्षमा बचत हुने रकमबाट स्रोत व्यवस्थापन गरिने जनाइएको छ। साथै, उपमहानगरपालिकाले २० करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य पनि निर्धारण गरेको छ।
बजेटमा नगर सरसफाइ, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, रोजगारी सिर्जना, पूर्वाधार निर्माण, नगर सौन्दर्यीकरण तथा दिगो शहरी विकासका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। उपमहानगरपालिकाले यी कार्यक्रममार्फत नगरको समग्र विकासलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
