जलेश्वर नगरपालिकाका मेयर साह युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सदस्यमा मनोनीत – Jaleshwortoday

जलेश्वर नगरपालिकाका मेयर साह युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सदस्यमा मनोनीत

 July 4, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १९ असार

युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सदस्यमा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह मनोनीत भएका छन् । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको विधान, २०३१ (संशोधन सहित) को परिच्छेद २ को दफा ३ उपदफा (२) र (३) बमोजिम आयोगको सदस्यमा मिति २०८० असार ८ को शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको अध्यक्षको निर्णयबाट जलेश्वर नगरपालिकाको नगर प्रमुख सुरेश साह ( सोनार ) लाई चार वर्षका लागि मनोनीत गरिएको छ ।

दोस्रो विश्व युद्धको संन्तापले अक्रान्त विश्वलाई आपसी शान्ति, मैत्री र विकासको माध्यमबाट समुन्नत गर्ने अभिप्रायले स्थापित संयुक्त राष्ट्र सङ्घको बहुआयामिक पहल मध्ये विश्वमा शिक्षा, विज्ञान, संस्कृति, सामाजिक तथा मानवीय र सञ्चार क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्य सहित विशिष्टिकृत संस्थाको रूपमा स्थापित युनेस्को (UNESCO-United Nations Educational, Scientific and Cultural Education) संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्ट सङ्गठन हो । यसको स्थापना सन् १९४५ नोभेम्वर १६ मा भएको हो । शुरूमा यस सङ्गठनका सदस्य ३७ राष्ट्रहरू थिए भने हाल यसका सदस्य राष्ट्रहरू १९६ पुगेका छन् ।