पशु बजार व्यवस्थापन गर्न जरुरी – Jaleshwortoday

पशु बजार व्यवस्थापन गर्न जरुरी

 November 27, 2023  
Untitled

  • प्रा.पवन कुमार साह

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३० प्रतिशत रहेको तथ्याङ्क छ । यस कारण यो क्षेत्रको सङ्ख्यात्मक एवं गुणात्मक सुधारका लागि विभिन्न प्रयास भएका छन् । तर यस क्षेत्रमा हुने उत्पादन दूध र अन्डा बाहेकको कुनै व्यवस्थित बजारीकरण भएको देखिँदैन, पारम्पारिक रूपमा छ । यसो हुनुको कारक तत्त्व हाम्रा उत्पादकहरू असङ्गठित छन् । उत्पादनको अवस्था पनि ससाना परिमाण र छरिएको छ । पशुपन्छी उत्पादन, ताजा तरकारी उत्पादनका बिक्री गर्नुलाई विविध खाले बजार शृङ्खला पार गर्नुपर्ने हुन्छ, जुन जटिल र पट्यार लाग्दो पनि । बरु उत्पादनमा संलग्न नहुने तर बजारीकरण अभ्यस्त एउटा शृङ्खला त झनै जटिल छ । त्यसैले हाम्रा कृषक भन्छन्, “उत्पादन शृङ्खलाका लागि सामग्री जुटाउन त कठिन छ, उत्पादित सामग्री बिक्री गर्न अझ कठिन छ ।” कृषिजन्य बजारका तीन वटा पाटा छन्, जसमा जिउँदो पशुपन्छीको बजारीकरण, पशुपन्छीजन्य उत्पादनको बजारीकरण र हरियो ताजा तरकारी उत्पादनको बजारीकरण छन् ।जिउँदो पशुपन्छीको बिक्री वितरण शताब्दीदेखि हुँदै आएको देखिन्छ । जुन प्रारम्भिक अवस्थामा साटासाट व्यवस्था अनुसार गरिन्थ्यो । तर क्रमशः यो अवस्था बजारीकरणतर्फ गएको चाहिँ विगत तीन दशकदेखि मान्न सकिन्छ । हाम्रो परिप्रेक्ष्यमा पशुपन्छीहरू खास गरी कुनै मेला, नियमित बिक्रीस्थल तथा साप्ताहिक, मासिक हाट बजारमा बिक्री गरिने प्रचलन छ । मेलाहरूमा बिक्री गरिने पशुपन्छीमा भारी बोक्ने, जोत्ने, गाडा तान्ने अनि सोख एवं मनोरञ्जनका लागि प्रयोग गरिने पशुपन्छीकै खरिद बिक्री हुने गर्छ । तर नियमित अनि साप्ताहिक एवं मासिक रूपमा लाग्ने पशुपन्छी बजारमा भने दुधालु गाईभैँसी र बाँकी मासुको प्रयोजनका लागि पशुपन्छीको खरिद बिक्री हुने गर्दछ । हाम्रो आफ्नो परिवेशमा पूर्वको झापादेखि पश्चिम नेपालगञ्ज तथा मधेससम्ममा अव्यवस्थित रूपमा नियमित, साप्ताहिक एवं मासिक गरी अनुमान १००—१५० वटा जति पशुपन्छी बजार सञ्चालित छन्, जुन संस्थागत, व्यक्तिगत रूपमा नियन्त्रित छन् जसको व्यस्थापन गर्न जरुरी देखिन्छ ।