जलेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, रोग लुकाएर बसेको चिकित्सकको टिप्पणी – Jaleshwortoday

जलेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, रोग लुकाएर बसेको चिकित्सकको टिप्पणी

 January 7, 2024  
sibir1.j2.jpg3.jpg4

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, २१ पौष

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । सो शिविरमा सय भन्दा बढी बिरामीहरुले विशेषज्ञ चिकित्सकहरुसंग सेवा लिएको जनाइएको छ ।
सदरमुकाम जलेश्वरमा सञ्चालित अम्बिका हस्पिटल एण्ड रिसर्च सेन्टरले जनकपुरको न्युरो हस्पिटलको सहयोगमा गरेको स्वास्थ्य शिविरमा न्युरोको बिरामीहरुले बढीभन्दा बढी सेवा लिएको जनाइएको छ । स्वास्थ्य शिविरमा कन्सल्टेन्ट न्यूरोसर्जन डा.विजय कुमार राउत, कन्सल्टेन्ट फिजिसियन डा.अप्पु झा, कन्सल्टेन्ट गाइनाकोलोजिष्ट डा.रुवी सिंह, एमडिजीपी डा.कुन्दन कर्ण लगायतकाले बिरामीहरुको उपचार गर्नुभएको अम्बिका हस्पिटल एण्ड रिसर्च सेन्टर जलेश्वरका निर्देशक जयकिशोर लाल (जेके लाल) ले जानकारी दिनुभयो । उहाँले शिविरमा नसा रोग, माइग्रेन, थाइराइड तथा प्रसुति समस्या सम्बन्धी बढी बिरामीहरुले स्वास्थ्य उपचार गराएको बताउनुहुदै शिविरमा ल्याव, एक्सरे, ईसिजी, अल्टूासाउण्डसहित निःशुल्क औषधी समेत वितरण गरिएको बताउनुभयो । करिब सात महिना अगाडी मात्रै सञ्चालनमा आएको अम्बिका हस्पिटलले जलेश्वरमा विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुहुदै अस्पतालका निर्देशक लालले भन्नुभयो,‘यही माटोमा हुर्केको र खेलेको कारण माटोको ऋण तिर्न नाफामुलक नभई सेवामुलक रुपमा अस्पताल सञ्चालन गरेको हुँ ।’ यो भन्दा अगाडी आफु जनकपुर नर्सिङ्ग क्याम्पसमा दुईदशक विताएको बताउनुहुदै लालले यसक्षेत्रका वासिन्दालाई स्वास्थ्य उपचारको लागि भारतीयक्षेत्र तथा टाढा जानुपर्ने वाध्यता हटाई आफ्नै गाउँ ठाउँमा कम खर्चमा सहज र सहुलियत उपचार होस् भन्ने चाहना आफ्नो रहेको बताउनुभयो ।
शिविरपश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्नुहुदै कन्सल्टेन्ट न्युरोलोजिष्ट डा.विजय कुमार राउतले स्वास्थ्य शिविरमा आएका अधिकाँश विरामीहरु रोग लुकाएर बसेको देखिएको बताउनुहुदै यसक्षेत्रमा न्युरोको बिरामीहरु बढी हुन सक्ने आशंका गर्नुभयो । नशा च्याप्ने, हात खुट्टा झमझाउने, स्पाइनल डिसअर्डर, माइग्रेनजस्ता बिरामीहरु बढी देखिएको र चेकजाँच पनि कम मात्रामा गराएको भेटिएको जानकारी दिनुहुदै डा.राउतले भन्नुभयो, ‘यसक्षेत्रमा न्युरोको बिरामीहरुको लागि अझ शिविरहरु गर्नुपर्ने आवश्यकता देखिएको छ । सरोकारबाला सबै मिलेर उपचार सेवा दिनु जरुरी छ ।’
त्यसैगरी कन्सल्टेन्ट फिजिसियन डा.अप्पु झाले शिविरमा महिला विरामीहरुको संख्या बढी देखिनु तथा महिला बिरामीहरुमा दमा, प्रेसर, गठिया, थाइराईडको विरामी बढी देखिएको बताउनुहुदै स्थानीय सरकारले महिला स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।