जलेश्वरटुडे समाचारदाता
महोत्तरी,धनुषा,४ माघ
भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको दिन नगरमा दीप प्रज्वलन गर्न महोत्तरीको जलेश्वर नगरपालिका तथा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरेको छ । अगामी जनवरी २२ तारेख अर्थात् माघ ८ गते राममन्दिरको प्राण प्रतिष्ठा (घरबास) हुँदै छ । जलेश्वरको मेयर सुरेश साह सोनार र जनकपुरधामका मेयर मनोजकुमार साहले क्रमश ः बिहिबार तथा बुधबार एक सूचना जारी गर्दै सो दिन घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न नगरबासीमा अपिल गरेका हुन् । साथै सो दिन माछा,मासु तथा मदिरा पसल बन्द गरिदिनु हुन सबै व्यापारीहरुलाई आग्रह समेत गर्नु भएका छन् । अहिले जलेश्वर नगरलाई नै श्रीराम भगवानको तस्वीर अंकीत भगवा रंगको झण्डाले सजाइएको छ भने जनकपुरधाममा समेत सरसफाईका साथै सो दिन जानकी मन्दिरले प्रदेश सरकारसँग सार्वजनिक विदाको माँग गर्नुका साथै सो दिन अयोध्या समेत पुग्ने तयारी रहेको स्रोतले बताएको छ । ‘प्राणप्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै जनकपुरधाम नगरवासीहरु पनि उक्त दिन घर घरमा दिपोत्सव गर्नुको साथै घर नजिकै रहेको मठ मन्दिर, चौक चौराहा लगायत जानकी मन्दिर, राम मन्दिरमा समेत उपस्थित भई दिपोत्सव गर्न आह्वान गरिन्छ’, मेयर साहले जारी गरेको सूचनामा अपिल गरिएको छ ।
