कृषकहरुलाई बोट विरुवा लगानी सम्बन्धी जनचेतना मूलक तालिम दिइयो – Jaleshwortoday

कृषकहरुलाई बोट विरुवा लगानी सम्बन्धी जनचेतना मूलक तालिम दिइयो

 April 11, 2025  
IMG_20250411_141910

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २९ चैत्र

महोत्तरी जिल्लाको दक्षिणी क्षेत्रका कृषकहरुलाई लक्षित गर्दै शुक्रबार सदरमुकाम जलेश्वरमा बोट विरुवा लगानी सम्बन्धी जनचेतना मूलक तालिम दिइएको छ ।
डिभिजन वन कार्यालय महोत्तरी जलेश्वरको आयोजनामा समृद्धिको लागि वन कार्यक्रम अन्तर्गत भएको सो तालिममा जलेश्वरनाथ सव डिभिजन वन कार्यालय बखरी अन्तर्गत पर्ने आठ वटा पालिकाहरुका ३० जना कृषकहरुलाई सहभागी गराई नीजि तथा सार्वजनिक जग्गामा बोट विरुवा लगानी गर्न जनचेतनामूलक सल्लाह र सुझाव दिइएको थियो ।
तालिममा जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका सहित बलवा नगरपालिका, मटिहानी नगरपालिका, मनरासिश्वा नगरपालिका, लोहारपट्टी नगरपालिका, पिपरा गाउँपालिका, महोत्तरी गाउँपालिका र एकडारा गाउँपालिकाका कृषि शाखासँग समन्वय गरेर त्यस क्षेत्रका कृषकहरु त्था वन क्षेत्रमा लागेका व्यक्तित्वहरुलाई सहभागी गराएर दिनानुदिन यस क्षेत्रबाट बोट विरुवा कम हुँदै गएको र यस क्षेत्रमा जनघनत्व बढी रहेकोले त्यसबाट वातावरण र मानिस बीचमा असन्तुलन पैदा भएर विभिन्न समस्याहरु उत्पन्न भइरहेको जनचेतना जगाउँदै आ आफ्ना नीजि तथा सार्वजनिक जग्गाहरुमा बोट विरुवा लगानी गर्न सल्लाह दिइएको थियो ।
तालिमको उद्घाटन डिभिजन वन कार्यालय महोत्तरी जलेश्वरका प्रमुख अजय कुमार मिश्रको अध्यक्षतामा भएको थियो भने सो तालिममा कृषि ज्ञान केन्द्र जलेश्वरका प्रमुख रामज्ञान मण्डल, जलेश्वरनाथ सव डिभिजन वन कार्यालय बखरीका वन अधिकृत सुरेश प्रसाद महतो, समृद्धिको लागि वन परियोजना एकडाराकी प्रमुख निशा साह लगायतकाले सहभागीहरुलाई यस क्षेत्रमा जनघनत्व अनुसार अक्सिजन उत्पादन गर्न तथा हरित ग्यास उत्सर्जन कम गर्नका लागि बोट विरुवा लगाउने तथा व्यवस्थापन गर्ने सम्बन्धी विभिन्न ज्ञानगुणका कुराहरु सिकाउनु भएका थिए ।
कार्यक्रममा सहभागी भएका कृषकहरुले तालिमबाट प्रभावित हुँदै यस प्रकारको तालिमको निरन्तरताको माँग गरेका थिए ।