
शरद् ऋतुले घरघरमा अन्नसँगै धार्मिक उत्सव भित्र्याउँछ । यसै ऋतुमा नेपालीहरूको महान् पर्व दसैँ मनाइन्छ । दसैँ सकिए लगत्तै तिहारको रौनक देशभरि छाउँछ । तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने उत्सव हो ।
पाँच दिनसम्म मनाइने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । हिन्दु धर्मअनुसार यमराजले आफ्नी बहिनी यमुनासँग बिताएको समयको सम्झना गर्दै यो पर्व मनाइन्छ । यो पर्वले दिदीबहिनी र दाजुभाइबिचको सम्बन्धलाई प्रगाढ बनाउँछ । हरेक वर्ष मनाइने पर्व तिहारले मनुष्य, पशु र प्रकृतिबिचको प्रेम, सम्मान र सम्बन्धको महत्व बुझाउँछ ।
तिहारको आरम्भ काग तिहारबाट हुन्छ । कागलाई सन्देशवाहक र शुभ वा अशुभ समाचारको प्रतीकको रूपमा लिइन्छ । यमदूतका रूपमा पुजिने कागलाई काग तिहारका दिन बिहानै घरबाहिर दुबो, तेल र खानेकुरा राखेर पूजा गरिन्छ । कागतिहारको दिन कागलाई पूजा गरे कागले यमराजलाई राम्रो खबर लगिदिन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । दोस्रो दिन कुकुर तिहार मनाइन्छ । यमराजको द्वारपाल भनेर सम्बोधन गरिने कुकुरलाई माला, टीका र मिठा परिकार अर्पण गरेर पूजा गरिन्छ । प्राकृतिक विपत्तिको पूर्वसूचना दिने, कुनै अनिष्ट हुन लाग्दा सूचित गराउने कुकुरलाई निष्ठावान् र आज्ञापालकका रूपमा लिइन्छ । तेस्रो दिन गाईतिहार हो । गाईलाई लक्ष्मीको रूप मानिन्छ । मिष्टान्नसहित विशेष रूपमा गाईको पूजा गरिन्छ । सम्पत्ति र समृद्धिको प्रतीक मानिने गाईको गहुँत, गोबर, दुध, दही र घ्युलाई पवित्र मानिन्छ । हिन्दुहरूले मनाउने हरेक धार्मिक कार्यमा उक्त कुराहरू आवश्यक पर्छ । गाईतिहारकै दिन लक्ष्मीपूजा गरिन्छ । साँझमा घरका प्रत्येक कुनामा दियो बालिन्छ । लक्ष्मी प्रवेश गर्न सकुन् भनेर घर, आँगन सफा बनाइन्छ । सोही दिनबाट देउसी र भैलो पनि खेल्न सुरु गरिन्छ ।
चौथो दिन गोवर्धनपूजा वा म्हः पूजा गरिन्छ । यस दिन गोवर्धन पर्वतको पूजा गरेर प्रकृतिलाई कृतज्ञता प्रकट गरिन्छ । अन्तिम दिन भाइटिका हो । यो दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुखको कामना गर्दै शिरमा तेल हालेर सप्तरङ्गी टीका लगाइदिन्छन् ।