सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएको गोलीकाण्ड घटनाप्रति सबैको ध्यान तानिएको छ । आइतबार राति हिन्दु र मुस्लिम समुदाय वीच भएको झण्डा झुण्ड्याउने बिबादका कारण एक जना ओम प्रकाश मेहतालाई प्रहरीको गोली लागि ज्यान गुमाएका छन् भने अर्का ९ जनालाई समेत गोली लागि घाइते भएका छन् । अर्का २ जना सोही घटनामा गोली लागि विशेष घाइते भएका छन् । दुई समुदाय वीच भएको आपसी मतभेदका कारण गोली नै चलाउनु पर्ने आवश्यकता कसरी भयो ? गोली नै चलाउनु पर्ने आवश्यकता भए पनि गोली लागेका ठाउँहरु प्रायः कम्मर भन्दा माथि रहेका छन् जुन कानुनी रुपमा बर्जित छ ।
अहिले सुनसरी सहित जनकपुरधाम,विरगंज लगायत विभिन्न ठाउँहरुमा हिन्दु सम्राट सेना,हिन्दुबादी संघसंगठन तथा जेनजी युवाहरु आन्दोलनरत देखिन्छन् । नेपाल विविधता, सहिष्णुता र सामाजिक सद्भावको आधारमा बनेको देश हो । कुनै पनि घटना वा विवादको समाधान हिंसा, तोडफोड, आगजनी वा प्रतिशोधबाट हुन सक्दैन । यस्ता कार्यले निर्दोष नागरिकलाई पीडा दिने, समाजमा अविश्वास बढाउने र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम मात्र गर्छ । त्यसैले सम्पूर्ण नागरिक, सबै समुदाय, राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरु संयमीत भई शान्ति, सद्भाव र आपसी विश्वासको माध्यमबाट समस्याको समाधान गर्न जरुरी रहेको देखिन्छ ।
साथै, घटनाको सत्यतथ्य सार्वजनिक गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग तत्काल गठन गर्न सरकार तत्पर रहन आवश्यक रहेको देखिन्छ ।
यस कठिन घडीमा सबै पक्षलाई जिम्मेवारीपूर्वक प्रस्तुत हुन, अफवाह र उत्तेजनाबाट टाढा रहन तथा सामाजिक सद्भाव र राष्ट्रिय एकताको रक्षा गर्न सबै जनाले भूमिका निर्वाह गर्न आवश्यक रहेको देखिन्छ।
