जलेश्वरटुडे समाचारदाता
ललितपुर,२९ मंसिर
खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयोजनामा नेपाल फुड फोरम २०२५ सोमबार ललितपुर स्थित होटल हिमालयामा सम्पन्न भएको छ। दिनभर चलेको फोरममा सरकार, निजी क्षेत्र, विकास साझेदार, कृषक, युवा उद्यमी, अनुसन्धानकर्ता तथा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
फोरममा कृषि क्षेत्रमा लगानी प्रवर्द्धन, खाद्य सुरक्षा मजबुत बनाउने उपाय तथा दिगो र जलवायु–अनुकूल कृषि प्रणाली विकासका विषयमा गहन छलफल गरिएको थियो। विशेषगरी कृषि लगानी दशक (२०२४–२०३४) लाई व्यवहारमा उतार्न आवश्यक नीति, रणनीति र साझेदारी बारे सहभागीहरू बीच विचार विमर्श भएको थियो।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा एफएओ द्वारा अघि सारिएको ह्यान्ड–इन–ह्यान्ड पहललाई प्रभावकारी बनाउँदै समावेशी कृषि विकासमा अघि बढ्नुपर्नेमा जोड दिइयो। वक्ताहरूले प्रविधि, नवप्रवर्तन र निजी क्षेत्रको सक्रिय सहभागिताबिना कृषि क्षेत्रको रूपान्तरण सम्भव नहुने धारणा राखे।
एफएओको ८०औँ स्थापना दिवसको अवसरमा आयोजित फोरममा Better Production, Better Nutrition, Better Environment and Better Life अवधारणाअनुसार कृषि क्षेत्रको दिगो विकासका लागि नीति तथा लगानी विस्तारमा सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
कार्यक्रममा भुटान र नेपालका लागि एफएओ प्रतिनिधि श्री केन शिमिजुले मन्तव्य राख्दै जलवायु परिवर्तन, खाद्य संकट र लगानीको अभावजस्ता चुनौतीलाई अवसरमा बदल्न साझेदारी र नव प्रवर्तन अपरिहार्य रहेको बताउनुभयो।
