" >
आत्मनिर्भर हुन युवा महिलालाई सामग्री सहयोग - Jaleshwortoday

आत्मनिर्भर हुन युवा महिलालाई सामग्री सहयोग

 १५ पुष २०८२, मंगलवार २२:४७  
2

धनुषा जिल्लाका पाँच पालिकाका २७ जना युवा महिलाहरुलाई आत्मनिर्भर हुन सामग्री सहयोग गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आसमान नेपालले जिल्लाको शहीदनगर नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका २७ जना युवा महिलाहरुलाई व्यवसाय संचालन गर्न सामग्री सहयोग गरिएको हो ।

१५ जनालाई किराना पसल संचालन गर्ने सामग्री, ९ जनालाई खाजा पसल संचालन गर्ने सामग्री, दुई जनालाई श्रृंगार पसल संचालन गर्ने सामग्री र एक जना युवा महिलालाई ब्युटिपार्लर संचालन गर्ने सामग्री सहयोग गरिएको हो ।

शहीदनगर नगरपालिकाका नगर उपप्रमुख सुनिता सिंहले युवा महिलाहरुलाई सो सामग्री हस्तान्तरण गरेकी थिइन् ।

वितरण कार्यक्रममा शहीदनगर नगरपालिकाका नगर उपप्रमुख सिंहले सामग्री पाएपछि युवा महिलाहरुले पसल संचालन गर्ने र समाजको विकृति विरुद्ध अभियान चलाउने विश्वास व्यक्त गरिन् ।

पसल संचालन गरेपछि उनीहरु आत्मनिर्भर बन्ने विश्वास सिंहले व्यक्त गरिन् ।

महिलालाई आफ्नै खुट्टामा उभिन तथा सहज जीवनयापनमा सहयोग पुग्ने तर्क उनले गरिन् ।

आसमान नेपालले पाँच वटै पालिकामा बालविवाह न्युनिकरण परियोजना अन्तर्गत बालविवाहमा परेका युवा महिला, विपन्न, गरिबलाई आत्मनिर्भर हुन विभिन्न तालिम प्रदान गरेर व्यवसाय संचालन गर्न लगाएका हुन् ।

युवा महिलाहरुले रोजेको व्यवसाय अनुसारको सामग्री उनीहरुलाई मंगलबार हस्तान्तरण गरिएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिपकुमार यादवले बताए ।

पाँच वटै पालिकामा प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत युवा महिलाहरुलाई आत्मनिर्भर हुन विभिन्न सहयोग गरेको छ ।

परियोजना अन्तर्गत केही युवा महिलाहरु सिपमूलक तालिम प्राप्त गरेर स्वरोजगारमा लागेकी छन् भने व्यवसाय सम्बन्धी तालिम लिएका युवा महिलाहरुलाई जनही करिब ५० हजार बराबरको सामग्री सहयोग गरेर व्यवसाय संचालन गर्ने अवसर प्रदान गरेको छ ।

आत्मनिर्भर हुँदा महिलाहरु बालविवाह जस्ता सामाजिक अपराध विरुद्ध सचेत हुने र समाजलाई पनि सचेत बनाउने भएकाले उनीहरुलाई सक्षम बनाउन लागिएको कार्यक्रम व्यवस्थापक यादवले बताए ।

सो अवसरमा प्लान इन्टरनेशनल नेपालका सनि विश्वकर्मा, आसमान नेपालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।