" >
मुर्तिकलाको सम्मान गरौं - Jaleshwortoday

मुर्तिकलाको सम्मान गरौं

 २४ पुष २०८२, बिहीबार २३:४३  

मुर्तिकला संसारको विभिन्न कलाहरु मध्ये एक हो । मुर्ति विभिन्न देवी तथा देवताहरुका बनाइन्छन् जसलाई हिन्दु धर्म अनुसार विभिन्न चाडपर्वमा पुजाआजा गर्ने गरिन्छ । मुर्ति माटो,पत्थर,पित्तल लगायतका तत्वबाट बनाउने गरिन्छ । माटो मुर्तिकला सम्बन्धमा मधेसमा कुनै किसिमको ठोस अध्ययन तथा अनुसन्धान भएको देखिदैन ।
मधेसमा दशैं,जन्माष्टमी,छठ,दीपावली,सरस्वती पुजा,विश्वकर्मा पुजा लगायतका पर्वहरुमा माटोको देवी देवता बनाई पुजा गर्ने पुरानो परम्परा रहेको छ ।
माटोको मुर्तिकलाका मुर्तिकारहरुलाई सोध्दा उनीहरु कतैबाट तालिम वा कुनै शैक्षिक प्रतिष्ठानबाट यो कला सम्बन्धी ज्ञान प्राप्त नगरी आफ्ना पुर्खाैली पेशाको रुपमा काम गरिरहेको बताउछन् भने कतिले आफ्ना बुवा वा हजुर बुवाबाट सिकेको बताउँछन् । माटोको मुर्ति बनाउने कतिपय मुर्तिकार कसैबाट केहि न सिकी आफैले स्वयंको कल्पनाबाट समेत मुर्ति बनाउने कार्य शुरु गरेको बताउँछन् । कतिपय पण्डीत समुदायका व्यक्तिहरुले समेत माटोको भाँडाकुडा बनाए झै मुर्ति समेत बनाउने गरेको देखिन्छन् ।
मधेस प्रदेशमा समेत यस मुर्तिकलाको गाउँदेखि शहरसम्म पेशाको रुपमा आश्रित रहेको देखिन्छ । मधेस प्रदेशका हजारौं मुर्तिकारहरु अहिले बसन्त पञ्चमीको अवसरमा माता सरस्वतीको माटोको मुर्तिहरु बनाउनमा व्यस्त देखिन्छन् । मधेस प्रज्ञा प्रतिष्ठान तथा अन्य सम्बन्धीत निकायहरुले यस्ता मुर्तिकारहरुका तथ्याँक संकलन गरी यिनीहरुलाई सम्मान गर्नुका साथै माटो मुर्तिकलालाई अध्ययन तथा अनुसन्धानको विषयको रुपमा समेत अगाडी बढाई यस कलाको सम्मान गर्न आवश्यक रहेको देखिन्छ ।