" >
बर्दिबासमा दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो भव्य रूपमा विमोचन - Jaleshwortoday

बर्दिबासमा दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो भव्य रूपमा विमोचन

 २० माघ २०८२, सोमबार २१:२७  
1

जीवनराज दाहाल
बर्दिबास, १९ माघ

लोक तथा दोहोरी गायन क्षेत्रका अनुभवी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो सोमबार बर्दिबासमा भव्य रूपमा विमोचन गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री र विशिष्ट अतिथि मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापाले संयुक्त रूपमा म्युजिक भिडियो विमोचन गरेका हुन् । विमोचनपछि भिडियो प्रोजेक्टरमार्फत उपस्थित दर्शकलाई प्रदर्शन गरिएको थियो, जहाँ दर्शकले गीत र भिडियोप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए ।

गीतमा बेल बहादुर परियार र प्रतिमा अर्यालको सशक्त स्वर रहेको छ । गीतको शब्द तथा सङ्गीत स्वयं गायक परियारकै रहेको छ भने एरेञ्ज, मिक्स तथा मास्टरिङ राजिव शाहले गरेका हुन् । म्युजिक सिटी डिजिटल, अनामनगरमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट प्रकाश श्रेष्ठ हुन् । गीतले प्रेम, भावनात्मक उतार–चढाव र ग्रामीण परिवेशको मर्मलाई सरल तर प्रभावशाली ढङ्गले प्रस्तुत गरेको छ ।

म्युजिक भिडियोमा कलाकार सञ्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी राजाराम सिंखडाको रहेको छ । छायाङ्कन सन्तोष तिमल्सिना, श्रृङ्गार नितु लामा तथा सम्पादन रोशन धितालले गरेका छन् । धिताल फिल्म्स प्रा.लि.को सम्पादन कक्षमा तयार पारिएको भिडियो मिलन फिल्म्स प्रोडक्सन प्रा.लि. द्वारा निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय स्तरमा सिर्जना हुने कला, साहित्य र संगीतले समाजको पहिचान बोकेको उल्लेख गरे । उनले गायक परियार जस्ता मेहनती कलाकारलाई व्यवसायिक तथा राष्ट्रिय कलाकारका रूपमा स्थापित गर्न नगरपालिकाले सदैव सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय प्रतिभालाई चिनाउँदै अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

विशिष्ट अतिथि पूर्व राज्य मन्त्री सारदा देवी थापाले गायक परियारले लामो समयदेखि लोक तथा दोहोरी क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन् । उनले जनवादी गीतमार्फत समाजका यथार्थ र जनताको आवाज उठाउँदै आएका परियारले अपेक्षित प्रचार नपाए पनि निरन्तर संघर्ष गर्दै आफ्नो सांगीतिक यात्रालाई अघि बढाइरहेको बताइन् । अब मिडिया, संघसंस्था र सरोकारवाला निकायले उनलाई चिनाउन सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको अध्यक्षसमेत रहेका गायक बेल बहादुर परियारले आफ्नो गीत विमोचन कार्यक्रममा बोल्दै सांगीतिक यात्राका आरोह–अवरोह, संघर्ष र साधनाका अनुभव साझा गरे । उनले वर्तमान समयमा स्रष्टाले भोग्नुपरेका चुनौतीहरूबारे चर्चा गर्दै दर्शक–श्रोताको माया र समर्थन नै कलाकारका लागि सबैभन्दा ठूलो ऊर्जा भएको बताए । उनले सबैलाई आफ्नो सिर्जनालाई हेर्न, सुन्न र माया गर्न आग्रह गरे ।

कार्यक्रममा नरहरी गौतम, कृष्ण गौतम, हिरा गौतम, रूद्रसेन विश्वकर्मा, जमुना पोख्रेल, मञ्जु क्षेत्री, रञ्जना माझी, सरिता ढुङ्गाना लगायत समाजसेवी, पत्रकार तथा राजनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण बिनोद ढुङ्गेलले गरेका थिए ।

गायक परियारले यसअघि रेडियो नेपालबाट २०५१ सालमा पहिलोपटक गाएको ‘जाग नेपाली वीर नेपाली’ गीतसहित ‘सिन्धुलीका सुसेलीहरू’, ‘गरौं है रमाइलो’ (देउसी गीत), ‘मिठो सम्झना’ (तीज गीत), ‘सुनको थैली चाँदीको झुम्कना’ लगायत थुप्रै गीत बजारमा ल्याइसकेका छन् । हालै सार्वजनिक भएको ‘फूल खसिगो, माया बसिगो’ पनि दर्शक–श्रोताले मन पराउने अपेक्षा गरिएको छ ।

उक्त गीत गायक बेल बहादुर परियारको आफ्नै युट्युब च्यानल ‘बेल बहादुर परियार अफिसियल’बाट सार्वजनिक गरिएको हो । कार्यक्रममा मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय अन्तर्वार्ता कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो ।

2