जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ माघ
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।
यसअघि प्राविधिक कारणले स्थगित गरिएको प्रदर्शनी आइतबार विशेष समारोहबीच उद्घाटन गरिएको हो ।
प्रदर्शनीको उद्घाटन मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले गरेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ तथा मधेस समन्वय समितिको संयोजक अरुणा हिंगमाँगको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नारद मनिको विशिष्ट आतिथ्य,मैथिली विकास कोषको अध्यक्ष जिवनाथ चौधरीको आयोजनामा तथा राजर्षि जनकविश्वविद्यालय,जनकपुरधाम उपमहानगरपालिका र नेपाल टुरिज्म बोर्डको सहकार्यमा कार्यक्रम संचालन गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै उनले मधेशका कलाकारहरूले आफ्नो कला, संस्कृति र पहिचानलाई सिर्जनात्मक माध्यमबाट उजागर गरिरहेको भन्दै प्रशंसा गरे ।
प्रदेश प्रमुख कर्णले भने, ‘ललितकला कुनै क्षेत्रको पहिचान र सभ्यताको प्रतिबिम्ब हो । मधेश प्रदेशका कलाकारहरूले आफ्ना सिर्जनामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको गौरव बढाइरहेका छन् । यस्ता प्रदर्शनीहरूले प्रतिभा पहिचान र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छन् ।’
उनले राज्यले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले प्रदर्शनीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी पूरा भएपछि आजदेखि सुरु गरिएको बताए ।
प्रदर्शनीमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूको चित्रकला, मूर्तिकला, हस्तकला तथा समसामयिक कला कृतिहरू प्रदर्शनमा राखिएका छन् ।
आयोजकका अनुसार प्रदर्शनीले स्थानीय कला, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
आयोजक संस्थाले सबै कला प्रेमी, कलाकार तथा सरोकारवालालाई प्रदर्शनी अवलोकन गरी मधेशी कला प्रवर्द्धनमा योगदान दिन आग्रह गरेका छन् । यो प्रदर्शनी आइतबारदेखि ५ दिन सम्म चल्ने भएकोले सबै सरोकारबालाहरुलाई सहभागि हुन आग्रह गरिएको छ । कार्यक्रममा मधेस प्रज्ञा प्रतिष्ठानको अध्यक्ष रामभरोस कापरी भ्रमर लगायत दर्शनौ विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा उद्घाटन सत्रको कार्यक्रम समपन्न भएको थियो ।
