मो.इर्शाद
महोत्तरी, ७ फागुन
१५ दिने मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको मटिहानी आइपुगेको छ। साधु, सन्त तथा गृहस्त परिवारजनको धार्मिक आस्थाको यात्राका रूपमा प्रख्यात रहेको माध्यमिकी परिक्रमा भारतको गिरिजास्थानमा बुधबार विश्राम गरी बिहीबार बिहान मटिहानी आइपुगेको हो।
परिक्रमा यात्रीहरूलाई नेतृत्वकर्ता मिथिला बिहारी र किशोरीजीको डोलालाई सहायक प्रमुख जिल्ला अधिकारी, मटिहानी नगरपालिकाका नगरप्रमुख तथा सुरक्षा निकाय प्रमुखहरू र स्थानीयवासीले स्वागत गरेका छन्। नगरप्रमुख हरिप्रसाद मण्डलले परिक्रमालाई मटिहानीमा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए।
परिक्रमा यात्रीको लागि मटिहानी नगरपालिकाले स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, शौचालयलगायतको व्यवस्थापन गरेको छ। स्थानीय व्यापारी, समाजसेवी र सर्वसाधारणले यात्रीहरुले लागि गच्छेअनुसारको सहयोग गरेका छन्। त्यस्तै, लक्ष्मीनारायण मठले समेत भोजन तथा खाद्यान्नको बन्दोबस्त गरेको मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णवले जानकारी दिए।
राम र सीताले मिथिलामा विवाह गरेका देवस्थलहरू, राजा जनकको राज्यका चारैकोणमा अवस्थित शिवालय, उनको कुलदेवी, राम र सीताको पहिलोपटक भेट भएको फूलबारी, रामसीताले नित्य होली खेल्ने कंचन वन, विवाहमा मटकोरका लागि माटो उत्खनन भएको मटिहानीलगायतका धार्मिक, पौराणिक र ऐतिहासिक स्थलहरूको परिक्रमा गर्न साधु र गृहस्तसहितको टोली धनुषाको हनुमानगढीमा भेला हुँदै कल्याणेश्वरमा संकल्प गरी भारतकै गिरिजास्थान हुँदै आज मटिहानी आइपुगेको हो।
यात्रा शुक्रबार जलेश्वर, शनिबार मडई र आइतबार ध्रुव कुण्डमा विश्राम गर्ने छ। त्यसपछि परिक्रमा धनुषा प्रवेश गर्नेछ।
