जिवनराज दाहाल
धनुषा, १६ फागुन
कमला साहित्य कला समाजको रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।धनुषाको गणेशमान चारनाथ नगरपालिका–५स्थित हरिहरेश्वर मन्दिर परिसर शनिबार साहित्य, संगीत र सामूहिक संवादको साझा थलो बनेको थियो। कमला साहित्य कला समाज धनुषाको आयोजनामा साहित्य रचना वाचन तथा फागु पूर्णिमाको शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो, जहाँ स्थानीय स्रष्टा र साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
समाजका अध्यक्ष गणेश तिमल्सिना ‘गति’को सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे (अग्निकवज) प्रमुख अतिथिका रूपमा रहेका थिए। साथै सिस्नोपानी नेपाल महोत्तरीका अध्यक्ष नारद काफ्ले, ओमकार टेलिभिजन अन्तर्गतको ‘पञ्चामृत’ कार्यक्रमका सञ्चालक जीवनराज दाहाल, राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त गौतमलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
रचना वाचन सत्रमा मुकेश यादव, किशोर एक्यैँ, महेश महतो, सुमन अधिकारी र गोविन्द खड्काले आफ्ना कविता, मुक्तक र गद्य रचनाहरू प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका सिर्जनाहरूमा प्रेम, सामाजिक यथार्थ, सांस्कृतिक पहिचान र समयचेतना जस्ता विषय समेटिएका थिए। प्रमुख अतिथि प्रेम घिमिरेले साहित्यको वर्तमान अवस्था र स्रष्टाको दायित्वबारे विचार राखेका थिए भने नारद काफ्ले र जीवनराज दाहालले पनि आफ्ना रचनामार्फत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा भजन प्रस्तुतिले पनि स्थान पाएको थियो। कमला एकादशी समूहका सुलेखा गिरि, विमला उपाध्याय र लिलामाया खड्काले भजन प्रस्तुत गरेका थिए, जसले मन्दिर परिसरको वातावरणलाई आध्यात्मिक र भावनात्मक बनाएको थियो।
कार्यक्रम व्यवस्थापनतर्फ नारायण घिमिरेले फोटो तथा भिडियो संकलन गरेका थिए। आगन्तुकहरूलाई टीका लगाएर स्वागत गर्ने कार्य नवराज घिमिरेले गरेका थिए।
यसै अवसरमा अध्यक्ष तिमल्सिना ‘गति’द्वारा लिखित मुक्तकसंग्रह ‘मनोगति’को प्रचार–प्रसारमा सहयोग गरेको भन्दै पत्रकार तथा साहित्यकार जीवनराज दाहाललाई सम्मान गरिएको थियो। सम्मानस्वरूप खादा र सम्मान पत्र प्रदान गरिएको थियो।
खादा वितरण, शुभकामना आदान–प्रदान तथा चिया–खाजासहित कार्यक्रम सम्पन्न भएको थियो। अन्तिम चरणमा अध्यक्ष तिमल्सिना ‘गति’ले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना केही मुक्तक वाचन गरेका थिए। कार्यक्रम साहित्यिक संवाद र आत्मीय भेटघाटका साथ समापन भएको थियो।
