जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १० चैत्र
विश्व क्षयरोग दिवस धनुषासहित देशभरि मनाइएको छ । क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय धनुषाले हो १ हामी क्षयरोग अन्त्य गर्छौ, राष्ट्रिय अभियान, हाम्रो योगदान भन्ने नाराका साथ जनकपुरधाममा मंगलबार बिहान प्रभातफेरी गरेको छ । प्रत्येक वर्ष मार्च २४ तारिखका दिन क्षयरोग दिवस मनाउने गरिएको हो ।
स्वास्थ्य कार्यालय धनुषाबाट सुरु भएको प्रभातफेरी प्रादेशिक अस्पताल हुँदै जानकी चोक, जनक चोक, शिवचोक लगायत नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
स्वास्थ्य कार्यालय प्रमुख उमेश यादवको नेतृत्वमा निकालिएको प्रभातफेरीमा स्वास्थ्यकर्मी लगायत छात्राहरुको सहभागिता रहेको थियो ।
युएनडीपी र बाग्मती सेवा समाज, नेपालको सहयोगमा निकालिएको प्रभातफेरीमा स्वास्थ्य कार्यालय धनुषाका कर्मचारीसहित सहभागीहरुले क्षयरोग विरुद्धका विभिन्न नाराहरु लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर प्रदान गरेको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए । क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज उपचारको प्रबन्ध गराउने उद्देश्यका साथ क्षयरोग दिवस मनाउने गरिएको उनले बताए ।
तीन हप्ताभन्दा बढी खोकी, खकारमा रगत, सास फेर्न गाह्रो, तौल घट्ने, थकान बढी भएमा नजिकको स्वास्थ्य चौकीमा जाँच गर्नुपर्छ । यो रोगको निःशुल्क उपचार उपलब्ध छ । रोग प्रतिरोधी क्षमता कम भएका, चुरोट–रक्सी प्रयोग गर्ने वा औषधिको पूर्ण मात्रा नलिनेमा पुनः सङ्क्रमण हुन सक्छ । नियमित औषधि सेवनले रोग निको हुने चिकित्सकको भनाइ छ ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोग मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये सबैभन्दा पुरानो रोगमध्येमा पर्दछ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । यसपछि मात्र यो रोगकाबारे जनचासो बढेको र वैज्ञानिकहरूले थप अनुसन्धान गरेको पाइन्छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित छ । त्यसैले हालसम्म यसैलाई आधार मानेर यसको पहिचान निदान र उपचार भइरहेको छ ।
