जलेश्वरबाट १९२ किलो गाँजासहित एक पक्राउ – Jaleshwortoday

जलेश्वरबाट १९२ किलो गाँजासहित एक पक्राउ

 April 10, 2026  
2

मो.इर्शाद
महोत्तरी, २६ चैत्र

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाबाट महोत्तरी प्रहरीले १९२.८ किलोग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

प्रहरी उपरीक्षक हेरम्ब शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार राति जलेश्वर नगरपालिका–८ कजराही कुट्टी अगाडि सवारी जाँचका क्रममा बा.प्र.०२–००६९९४ नम्बरको निसान कारबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।

जाँचका क्रममा कारमा सवार व्यक्तिहरू सवारीसाधन छोडी फरार भएपछि प्रहरीले कार खानतलासी गर्दा २२ वटा पोकामा राखिएको गाँजा फेला परेको जनाएको छ।उक्त कारसँगै आएको प्रदेश २–०३–००१ च ९०७७ नम्बरको नेक्सस कारलाई समेत प्रहरीले पछ्याउँदै महोत्तरी गाउँपालिका–४ रतवाडाबाट फेला पारी सोही कारमा सवार एक २६ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ भने फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ। घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएको जनाएको छ।