आस्थाको पराकाष्ठा :६ महिना २२ दिनको ‘दण्डवत’ यात्रा : बिहारका यादव पशुपतिनाथमा – Jaleshwortoday

आस्थाको पराकाष्ठा :६ महिना २२ दिनको ‘दण्डवत’ यात्रा : बिहारका यादव पशुपतिनाथमा

 May 24, 2026  
2

मो.इर्शाद
महोत्तरी, १० जेठ

धार्मिक आस्था र अदम्य इच्छाशक्तिको परीक्षा लिने गरी भारतको बिहारबाट शरीर घिसार्दै (दण्डवत) हिँडेका मनोजकुमार यादव अन्ततः आफ्नो गन्तव्य पशुपतिनाथ आइपुगेका छन्। सुल्तानगञ्ज बाबाधामबाट सुरु भएको उनको ६ महिना २२ दिन लामो कष्टकर यात्रा आइतबार पशुपतिनाथ परिसरमा आएर टुङ्गिएको हो।
​कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमको पर्वाह नगरी पेटको बलले घिस्रिएर हजारौँ किलोमिटर पार गरेका यादवको यो ‘तपस्या’ देखेर पशुपतिनाथ परिसरमा उपस्थित भक्तजन र स्थानीय अचम्मित देखिन्थे। कतिपयले उनको यो दृढतालाई अदम्य साहसको रूपमा लिएका छन्।
​आइतबार मन्दिर परिसरमा भेटिएका यादवको अनुहारमा थकानभन्दा बढी आध्यात्मिक सन्तोष झल्किन्थ्यो। ‘धार्मिक भाकल र पशुपतिनाथप्रतिको अगाध आस्थाका कारण नै यो असम्भवजस्तो लाग्ने यात्रा पूरा गर्न सकिएको हो,’ उनले भने।
​उनको आगमनसँगै पशुपति क्षेत्रमा उनलाई हेर्ने र उनको अनुभव सुन्नेको भिड लागेको थियो। मानवीय शारीरिक सीमाभन्दा माथि उठेर गरिएको यो समर्पणले धार्मिक आस्थाको शक्तिलाई पुनः एक पटक प्रमाणित गरेको भन्दै स्थानीयले उनको प्रशंसा गरिरहेका थिए। यात्रा सम्पन्न गरेपछि यादवले पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना गरी शान्तिको कामना गरेका छन्।