दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, २४ जेष्ठ
महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका २८ वर्षीय कपिल दास झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाले नयाँ मोड लिएको छ। मृतककी श्रीमती रेखा देवी दासले श्रीमान्को मृत्यु आत्महत्या नभई योजनाबद्ध हत्या भएको आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेकी छन्।
आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा रेखा देवीले कपिलको मृत्यु अत्यन्तै शंकास्पद रहेको बताउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्। उनका अनुसार वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका कपिल करिब ६ वर्षपछि तीन महिनाअघि घर फर्किएका थिए।
घर फर्किएपछि कपिल केही साथीहरूसँग भारत जाने–आउने तथा लागुऔषध सेवन गर्ने समूहको सम्पर्कमा रहेको जानकारी आफूले पाएको रेखा देवीले बताइन्। उनका अनुसार वैशाख ९ गते घरबाट निस्किएका कपिल त्यसपछि सम्पर्कविहीन भएका थिए। परिवारजनले खोजी गर्ने क्रममा घरदेखि करिब एक किलोमिटर पश्चिमतर्फ रहेको आँप बगैंचामा कपडाको डोरीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।
रेखा देवीका अनुसार परिवारमा कुनै गम्भीर विवाद, आर्थिक समस्या वा आत्महत्यासम्म पुग्ने स्पष्ट कारण नदेखिएकाले घटनामा हत्या भएको आशंका बलियो बनेको छ। उनले लक्ष्मिनिया देवी, राकेश यादव, रोशन राउत तथा विवेक नाम गरेका व्यक्तिहरूमाथि शंका व्यक्त गर्दै उनीहरूको भूमिकाबारे गम्भीर अनुसन्धान गर्न माग गरिन्।
घटना भएको दिन कपिलको मोबाइलमा लक्ष्मिनिया देवी नामकी महिलाबाट दुई पटक फोन आएको विवरणलाई समेत उनले अनुसन्धानको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिन्। उक्त फोन कलपछि कपिलको गतिविधि रहस्यमय बनेको दाबी गर्दै उनले यस पक्षको प्राविधिक तथा तथ्यगत अनुसन्धान गर्न आग्रह गरिन्।
पीडित परिवारका अनुसार घटनाबारे प्रहरीमा उजुरी दर्ता गरिएको करिब दुई महिना बितिसक्दा पनि अनुसन्धानले कुनै ठोस निष्कर्ष दिन सकेको छैन। यसले परिवारमा थप आशंका र निराशा बढाएको उनीहरूको भनाइ छ।
परिवारले घटनाको गहिरो, निष्पक्ष र वैज्ञानिक ढंगले अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।
यता, प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धान नसकिएकाले घटनाबारे अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको प्रहरीको भनाइ छ। परिवारले भने घटनालाई आत्महत्या वा अन्य कुनै निष्कर्षमा पुग्नुअघि सबै सम्भावित पक्षको सूक्ष्म अध्ययन गरी पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेको छ।
