महोत्तरीमा १७ सदस्यीय जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन – Jaleshwortoday

महोत्तरीमा १७ सदस्यीय जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन

 June 6, 2026  
3

मो.इर्शाद
महोत्तरी, २३ जेष्ठ

बालबालिकाको सहभागिताको अधिकारलाई संस्थागत गर्दै महोत्तरी जिल्लामा १७ सदस्यीय जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको छ। मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको निर्देशन तथा जिल्ला समन्वय समिति महोत्तरी, सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको समन्वयमा शुक्रबार जलेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रममा सञ्जाल गठन गरिएको हो।

नेपालको संविधानको धारा ३९ (३), बालबालिका सम्बन्धी ऐन, २०७५, बाल अधिकार सम्बन्धी प्रदेश ऐन, २०७७ तथा बाल सहभागिता कार्यविधि, २०७८ अनुसार बालबालिकाको सहभागितालाई सुनिश्चित गर्ने उद्देश्यले जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको हो। प्रदेश बाल क्लब सञ्जाल गठनका लागि जिल्ला तहबाट प्रतिनिधित्व सुनिश्चित गर्न मन्त्रालयले महोत्तरीमा सञ्जाल गठनको जिम्मेवारी रतौली युवा क्लबलाई दिएको थियो।

कार्यक्रममा महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहका पालिका स्तरीय बाल क्लब सञ्जाल (MCCN) का पदाधिकारीहरूको सहभागिता रहेको थियो। सहभागी बालबालिकामध्ये समावेशीकरणको आधारमा सर्वसम्मत रूपमा १७ सदस्यीय जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको हो।

नवगठित सञ्जालको अध्यक्षमा जलेश्वर नगरपालिकाका रितिक शर्मा चयन भएका छन्। त्यसैगरी पिपरा गाउँपालिकाकी जागृति राज चौधरी र लोहारपट्टी नगरपालिकाका कन्हैया कुमार साह उपाध्यक्ष चयन भएका छन्। बर्दिबास नगरपालिकाकी इसिका ढुङ्गेल सचिव तथा मनरा शिस्वा नगरपालिकाका अनिकेत कुमार मण्डल सहसचिव चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा शुभम महतो, काजल कुमारी ठाकुर, नेहा कुमारी पासवान, सोनाक्षी कापर, राखी कुमारी ठाकुर, काजल कुमारी सदा, कुश कुमार सहनी, नितेश कुमार मण्डल, विन्दिया साह, कल्पना साह, विशाल कार्की र सुप्रिया पण्डित रहेका छन्।

पदाधिकारी चयन तथा प्रतिनिधित्वका विषयमा सहभागी बालबालिकाबीच सहमति जुटाउन केही समय कठिनाइ भएको थियो। तथापि छलफल र सहमतिपछि कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको आयोजक पक्षले जनाएको छ।

बैठकले प्रदेश स्तरीय बाल क्लब सञ्जालमा महोत्तरी जिल्लाको प्रतिनिधित्व गर्ने चार जना बालबालिका छनोट गरी सम्बन्धित निकायमा नामावली पठाउने विषयमा समेत छलफल गरेको थियो।

कार्यक्रममा रतौली युवा क्लवको अध्यक्ष मो. शाकिर खानको उपस्थिति रहेको थियो भने जिल्ला स्तरीय बाल क्लब गठन कार्यक्रमका संयोजक राजेश पाण्डेको नेतृत्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सहभागी १५ वटै पालिकाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सहभागीहरूले नवगठित सञ्जालले बाल अधिकार, बाल सहभागिता तथा बालमैत्री समाज निर्माणका लागि जिल्लाभर सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।